संविधान पालनाको दृष्टिले प्रश्न उठेको भन्दै रास्वपाले भन्यो सरकार लक्ष्यबाट च्यूत भए प्रतिरोध गर्छौं

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठन र संसद् विघटनमा दोहोरो चरित्र देखाएको छ। रास्वपाले कठिन संक्रमणकालबाट मुलुकलाई पार लगाउन प्रथम महिला प्रधानमन्त्रीले जिम्मेवारी पाएको भन्दै भदौ २३ मा जेनजी पुस्ताको निर्णायक हस्तक्षेपका बलमा मुलुकमा परिवर्तन आएको भनेको छ।
सँगै रास्वपाले संविधान पालनाको दृष्टिले केही प्रश्न उठेको भन्दै घोषित लक्ष्यबाट सरकार च्यूत भएमा प्रतिरोध गर्ने चेतावनी समेत दिएको छ।
महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तीमा रास्वपाले सबै पक्षलाई जोड्दै सहमति र समन्वयका लागि भदौ २६ मा पार्टीले जारी प्रस्तावको स्मरण गराएको छ।
फागुन २१, २०८२ का लागि तोकिएको आमनिर्वाचन सफलतापूर्वक सम्पन्न गरी शान्तिपूर्ण सत्ता हस्तान्तरण, लोकतान्त्रिक हकअधिकारको निर्वाध उपभोग, विधिवद्ध शासन, भ्रष्टाचार र दण्डहीनता विरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधार, सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध तथा गुणस्तरीय विकासमा सरकारले सक्रियता देखाउनुपर्नेमा रास्वपाको जोड छ।
‘यी घोषित लक्ष्यबाट सरकार च्यूत भएमा रास्वपा प्रतिरोधको भूमिकामा रहन्छ, तर समग्र राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनमा दल सदा सहयोगी रहन्छ,’ विज्ञप्तीमा भनिएको छ।
भदौ २८, २०८२ शनिबार २०:०४:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।