‘जन्मदिनको उपहार स्वरूप म आज आफूलाई कारागार पठाउँदै छु’

‘जन्मदिनको उपहार स्वरूप म आज आफूलाई कारागार पठाउँदै छु’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शनिबार सामाजिक सञ्जालमार्फत कारागार फर्किने घोषणा गरेका छन्। जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट निस्किएका उनले आज जन्मदिनको उपहार स्वरुप पुनः कारागारमा जाने तयारीमा रहेको बताए। 

उनले आफूमाथि राजनीतिक प्रतिशोध साधिएको आरोप समेत लगाए। साथै लामिछानेले नयाँ सरकारलाई २०४६ सालपछिका नीतिगत निर्णय र उच्च पदस्थको सम्पत्तिको छानबिन गर्ने, देशका सबै निकायमा गरिएका राजनीतिक नियुक्ति रद्द गर्न, कर्मचारीदेखि न्यायपालिकासम्मको पुनर्नियुक्ति प्रक्रिया खोल्न र विश्वविद्यालय तथा राजदूतहरूको नियुक्तिमा मेरिटोक्रेसी लागू गर्न आग्रह समेत गरेका छन्। 

लामिछानेले जेनजी आन्दोलनका क्रममा बालबालिका मारिएको र सरकारी संरचनाहरूमा आगो लागेको घटनाको छानबिन हुनुपर्नेमा जोड दिएका छन्। “बच्चाको टाउकोमा गोली हानेर मार्ने, सरकारी संरचनामा आगो लगाउने जिम्मेवार तत्काल कारबाहीको दायरामा आउनुपर्छ,” उनले भनेका छन्। 

उनी आफ्नो पार्टी सदस्यलाई पार्टी निर्माणमा जुट्न आह्वान समेत गरेका छन्। लामिछानेले नयाँ सरकार र जेनजीलाई शुभकामना व्यक्त गर्दै, देशभरका पार्टी पंक्तिलाई प्रशासनसँग समन्वय गरी पुनर्निर्माणमा योगदान दिन अपिल गरेका छन्।

भदौ २८, २०८२ शनिबार १८:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।