संसद् विघटनपछि एकजुट भए आठ दल, संविधानमाथि प्रहार भएको निष्कर्ष, रास्वपा भने बोलेन

संसद् विघटनपछि एकजुट भए आठ दल, संविधानमाथि प्रहार भएको निष्कर्ष, रास्वपा भने बोलेन

काठमाडौं : आठ राजनीति दलहरूले प्रतिनिधिसभा विघटनलाई संविधानमाथिको प्रहार भनेका छन्। 

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीले संयुक्त विज्ञप्ति जारी गर्दै नवगठित सरकारले २७ गते राति जारी गरेको प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै आपत्ति जनाएको छन्।

दलहरूले प्रतिनिधिसभा विघटन संविधानको धारा ७६ (७), सर्वोच्च अदालतले प्रतिपादन गरेका नजीर तथा संवैधानिक परम्परा विपरीत भएको स्पष्ट पारेका छन्। यस्तो कदमले जनताको मताधिकारको अवमूल्यन गरेको र संविधानमाथि आक्रमण भएको उनीहरूको भनाइ छ।

विज्ञप्तिमा भनिएको छ, “जननिर्वाचित संस्था प्रतिनिधिसभा विघटनको निर्णय तत्काल फिर्ता लिइ संसद बैठक बोलाइ जनता र आन्दोलनरत समूहको मागलाई संस्थागत रूपमा सम्बोधन गर्ने वातावरण सिर्जना गर्न जोडदार माग गर्दछौं।”

दलहरूले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। त्यस्तै, जनधनको क्षतिबारे छानबिन गरी संलग्नलाई कानुनअनुसार कारबाही गर्न पनि माग गरेका छन्। 

आठ राजनीति दलहरूले संयुक्त विज्ञप्ति निकाल्दा रास्वपाले भने संसद् विघटनबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

भदौ २८, २०८२ शनिबार १७:३१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।