जेनजी आन्दोलनका घाइतेहरूले प्रधानमन्त्रीलाई भने- देशका लागि गोली खाएका हौं, योगदान खेर नजाओस्

जेनजी आन्दोलनका घाइतेहरूले प्रधानमन्त्रीलाई भने- देशका लागि गोली खाएका हौं, योगदान खेर नजाओस्

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनका घाइतेले आफूहरूको बलिदान खेर जान नदिन आग्रह गरेका छन्। घाइतेहरूको अवस्था बुझ्न बानेश्वर स्थित सिभिल अस्पताल पुगेकी प्रधानमन्त्री कार्कीलाई उनीहरूले जेनजी पुस्ताको योगदानलाई कदर गर्न आग्रह गरे। 

‘यो पुस्ताको योगदान खेर नजाओस्। हामीले देशका लागि गोली खाएका हौं। राम्रो काम गरिदिनुहोला,’ सिभिल अस्पतालमा उपचाररत एक घाइतेले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई भने। 

प्रधानमन्त्री कार्कीले सिभिल अस्पतालका कार्यकारी निर्देशक मोहन चन्द्र रेग्मी समक्ष अस्पतालले उपचारमा देखाएको सक्रियताको प्रशंसा समेत गरिन। उनले अस्पतालको शैयामा रहेका बिरामीसँग केहीबेर कुराकानी गरेकी थिइन्।  

यसअघि नेशनल ट्रमा सेन्टरमा पुगेकी प्रधानमन्त्री कार्कीले चिकित्सकसँग घाइतेहरूको अवस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन समेत दिइन्।

प्रधानमन्त्री कार्कीले बिरामीको निःशुल्क उपचार गर्न निर्देशन दिएको राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजालले जानकारी दिए।

जेनजी आन्दोलनका क्रममा हालसम्म ५१ जनाको मृत्यु भइसकेको छ भने सैयौं प्रदर्शनकारी घाइते भएका छन्। 

भदौ २८, २०८२ शनिबार १६:४३:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।