बदलाको भावनाभन्दा माथि उठेर सुशासनको मार्गमा अघि बढ्न प्रधानमन्त्री कार्कीलाई काठ उपमेयर डंगोलको सुझाव

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिँदै निराशाको अन्त्य गरेर देशलाई सुशासनको मार्गमा अघि बढाउन आग्रह गरेकी छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले यो क्षण ऐतिहासिक मात्र नभई, बदलाको भावनाभन्दा माथि उठेर न्यायप्रेमी जनताको भावनाअनुसार मुलुकमा सुशासनको आधारशिला निर्माण गर्ने स्वर्णिम अवसर पनि भएको बताएकी छन्।
उनले लेखेकी छन्, ‘यो तपाईंका लागि केवल ऐतिहासिक र गौरवमय क्षण मात्र होइन, अपितु बदलाको भावनाभन्दा माथि उठेर, जेनजी लगायत समस्त न्यायप्रेमी जनताको भावनाअनुरूप मुलुकमा न्याय, समानता र सुशासनको आधारशिला निर्माण गर्ने स्वर्णिम अवसर पनि हो।’
उपमेयर डंगोलले नयाँ नेतृत्वले द्वन्द्वको सट्टा संवाद र विभाजनको ठाउँमा एकता कायम गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरेकी छन्।
‘नेतृत्वले द्वन्द्वको सट्टा संवाद, विभाजनको स्थानमा एकता, निराशाको अन्त्य गरी आशाको सञ्चार र सुशासनको मार्गमा मुलुकलाई अगाडि बढाउनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु’, उनले भनिन्।
नयाँ पुस्ताको आकांक्षा र ‘जेनजी’ आन्दोलनका शहीदहरूको बलिदानलाई सम्मान गर्दै यो गहन जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्न प्रधानमन्त्री सक्षम हुने विश्वास व्यक्त गर्दै उनले नवनियुक्त प्रधानमन्त्रीमाथि सम्पूर्ण महिला दिदीबहिनीहरूको दृढ आशा रहेको पनि उल्लेख गरिन्।
साथै, उनले आन्दोलनमा सहादत प्राप्त गर्नेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेकी छन्।
भदौ २८, २०८२ शनिबार १४:३६:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।