एमालेमा अष्टलक्ष्मीको नेतृत्वमा पार्टी पुनर्गठनको प्रस्ताव, तर उनले भनेकी थिइन्- ‘नयाँलाई अवसर दिनुपर्छ’

एमालेमा अष्टलक्ष्मीको नेतृत्वमा पार्टी पुनर्गठनको प्रस्ताव, तर उनले भनेकी थिइन्- ‘नयाँलाई अवसर दिनुपर्छ’

काठमाडौं : एमालेभित्र तेस्रो पुस्ताका युवा नेताहरूले पार्टीलाई नयाँ जीवन दिन उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको नेतृत्वमा पुनर्गठन गर्नुपर्ने बहस सुरू गरेका छन्।

हालैको ‘जेन-जी’ आन्दोलनले दिएको सन्देशलाई आत्मसात् गर्दै पार्टीलाई पुनर्जीवित गर्न यो अभियान सुरू गरिएको र यसलाई देशव्यापी बनाउने तयारी भइरहेको नेताहरूले बताएका छन्।

केन्द्रीय सदस्य ईश्वरी जिएमका अनुसार, पार्टीमा निरन्तर क्रियाशीलता, बेदाग व्यक्तित्व र आदर्शबाट कहिल्यै विचलित नभएको नेताको खोजी गर्दा शीर्ष तहमा शाक्य सबैभन्दा योग्य पात्र देखिएकी छन्।

‘एमालेलाई नयाँ ढंगले पुनर्गठन गरेर जनतामाझ जान अहिलेको परिस्थितिमा माथिल्लो तहमा अष्टलक्ष्मी नै सबैभन्दा उपयुक्त पात्र हुन्’, विघटित प्रतिनिधिसभा सदस्यसमेत रहेकी जिएमले भनिन्।

यस अभियानमा रचना खड्का जस्ता अन्य नेताहरूले पनि ऐक्यबद्धता जनाएका छन्। देशभरका कार्यकर्ताको भावना बुझेर सुरु गरिएको यो बहसलाई पार्टीभित्र र बाहिर एक राष्ट्रव्यापी बहसमा रूपान्तरण गर्ने उनीहरूको तयारी छ।

पार्टी उपाध्यक्ष शाक्य पदमा रहँदा कहिल्यै विवादमा नपरेको र सुशासनको मामिलामा समेत पारदर्शी नेताको छवि बनाएकी छन्।

उनी नयाँ र पुराना पुस्तालाई जोड्ने ‘कडी’ बन्न सक्ने भएकाले पदाधिकारी तहका अन्य नेताहरू पनि सकारात्मक हुने अभियानकर्मीहरूको विश्वास छ।

तर, रोचक कुरा के छ भने, शाक्य आफैँ भने आफ्नो पुस्ताले विश्राम लिएर नयाँलाई अवसर दिनुपर्ने पक्षमा उभिँदै आएकी छन्। पार्टीभित्र आलोचनात्मक चेतको विकास हुनुपर्छ भन्ने मान्यता राख्ने उनी विधानबाट दुई कार्यकाल र ७० वर्षे उमेर हद हटाउने प्रस्तावको विपक्षमा उभिएकी थिइन्।

साथै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा पुनरागमनको चर्चाको पनि उनले विरोध गरेकी थिइन्।

भदौ २८, २०८२ शनिबार १३:१९:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।