‘प्रहरीको बर्दी लगाउँदा पनि चोर नै देखिने रछ’

काठमाडौं : भदौ २३ गते जेन-जी आन्दोलनमा १९ जनाको मृत्यु भएपछि २४ गते देशका विभिन्न शहरको सडकमा आगो मात्र बालेन, यसले समाजको एउटा कुरूप तस्बिर पनि देखाइदियो। त्यो तस्बिर, जहाँ रक्षकहरू निरीह थिए अनि भिड अराजक।
अहिले, जब धुवाँको मुस्लो पातलिएको छ, सामाजिक सञ्जालको भित्तो त्यही विध्वंसको साक्षी बनेर बोलिरहेको छ। विशेषगरी टिकटकमा छरिएका भिडियोहरूले प्रहरीमाथि भएको ज्यादतीको एउटा दर्दनाक शृङ्खला देखाउँछ, जहाँ युवाहरू नै त्यस्ता हर्कतको चर्को आलोचना गरिरहेका छन्।
आन्दोलनकारीले लुटेका प्रहरीका बर्दी, हेल्मेट र हतियार लगाएर बनाइएका भिडियोहरू एउटा तमासा बनेका छन्। तर, ती भिडियोको कमेन्ट सेक्सनमा आक्रोश र भर्त्सनाको बाढी छ।
‘प्रहरीको कपडा लगाए पनि अनुहार त चोरकै देखिने रहेछ,’ एक प्रयोगकर्ताले लेखेका छन्। ‘अहिले हिरो बन्दैछस्, प्रहरीले धुलो हुने गरी कुटेपछि थाहा पाउलास्,’ अर्को टिप्पणी छ।
‘यो भिडियो सेभ गरौँ, प्रहरीसम्म पुर्याउनुपर्छ,’ ‘हामीले यस्तो अराजकताका लागि आन्दोलन गरेका थिएनौं,’ जस्ता हजारौँ प्रतिक्रियाले आन्दोलनको नाममा भएको छाडापनप्रति नागरिकको वितृष्णा देखाउँछ।
धेरैले कमेन्ट बन्द गरे पनि भिडियो अझै हटाएका छैनन्। ती भिडियोहरूमा केटाकेटीदेखि महिला, आन्दोलनकारी युवा र जेलबाट भागेका कैदीहरूले समेत प्रहरीको बर्दी लगाएर मजाक उडाइरहेका छन्।
कोही ट्राफिकको नक्कल गर्दैछन्, कोही हातमा वाकी-टकी लिएर अस्वाभाविक सिट्टी बजाइरहेका छन्। जलिरहेको गाडी अगाडि प्रहरीको बर्दीमा अपशब्द बोल्दै नाच्ने, धुम्रपान र मदिरापान गर्ने दृश्यहरूले मानवतालाई नै गिज्याइरहेको देखिन्छ। कतिपयले त घरमा पुगेर बर्दी लगाउँदै ‘प्रहरी बन्ने सपना पूरा भयो’ भनेर भिडियो पोस्ट गरेका छन्।
जब रक्षकहरू नै असुरक्षित भए...
यो डिजिटल अपमानभन्दा कैयौँ गुणा भयानक थियो, सडकमा प्रहरीले भोगेको भौतिक आक्रमण। सबैभन्दा हृदयविदारक दृश्य थियो- तीनकुने प्रहरी बिटका प्रहरीहरूलाई दुवै हात माथि उठाउन लगाएर युद्धबन्दी जसरी लस्करै हिँडाइएको।
भिडियोमा एक जना कराउँदै भन्छन्, ‘प्रहरीले गोली हानेर युवा मार्यो, अब यिनीहरूलाई ठीक पार्नुपर्छ।’
मंगलबार देशैभरका प्रहरी चौकीहरूमा एकैसाथ आक्रमण भयो। काठमाडौंका बौद्ध, महाराजगन्ज, नक्साल, दरबारमार्गदेखि सिंहदरबार अगाडिको ट्राफिक कार्यालयसम्म आगोको मुस्लोमा परे।
काठमाडौं बाहिर भक्तपुर, काभ्रे, दाङ, इटहरी, विराटनगर र धनुषाका चौकीहरू जलेर खरानी भए। आन्दोलनकारीको विशाल भिडअगाडि प्रहरीको केही सीप लागेन। यही क्रममा विभिन्न स्थानमा तीन जना प्रहरीले कुटपिटबाट ज्यान गुमाए।
प्रहरीविहीन सहर र नागरिकको डर
जब प्रहरी संयन्त्र कमजोर भयो, कारागारका पर्खालहरू भत्किन थाले। कैदीहरू सडकमा निस्केपछि आम मानिसमा असुरक्षा र त्रासको कालो बादल मडारियो। बुधबार सडकबाट प्रहरी लगभग हरायो। त्यही बेला नागरिकले महसुस गरे- प्रहरीको अभाव कति महँगो पर्दो रहेछ।
बिहीबार नेपाल प्रहरीले एउटा सूचना जारी गर्यो- ‘प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका वा फेला परेका हतियार, सञ्चार साधन र अन्य सामग्रीहरू कृपया नजिकको प्रहरी कार्यालयमा बुझाइदिनुहोला।’
यो सूचनापछि सामाजिक सञ्जालको ट्रेन्ड बदलियो। बर्दी दुरुपयोग गर्नेका भिडियोमा ‘तेरो खोजी हुँदैछ’ भन्दै प्रहरीको त्यही सूचना कमेन्ट गर्नेको लहर चल्यो। एक युवाले त आफूले भिडमा रमाइलोका लागि मात्र पोशाक लगाएको र फिर्ता गरिसकेको भन्दै माफी माग्दै भिडियो नै बनाए।
यस्तै अवस्थामा ललितपुरको टीकाभैरवमा एउटा मनछुने र फरक दृश्य देखियो। आन्दोलनमा विस्थापित भएका प्रहरीलाई स्थानीय बासिन्दा आफैँ जुटेर चौकीमा पुनर्स्थापित गराए। उनीहरूले खादा लगाएर प्रहरीको स्वागत गरे, सुरक्षाको जिम्मा लिन आग्रह गरे।
बिहीबारदेखि देशभर प्रहरी सक्रिय भइरहेको देखिन्छ। चोक-चोकमा प्रहरी बलको उपस्थिति देखेर स्थानीय केही ढुक्क भएका छन्।
बौद्धकी स्थानीय मनमाया तामाङ भन्छिन्, ‘जे जस्तो भए पनि प्रहरी हाम्रै सुरक्षाका लागि हो भनेर अब सबैले बुझे होलान्। कैदीहरू भागेको र लुटपाट बढेको सुन्दा मलाई रातभर डरले निद्रै लागेन। आज आफ्नो टोलमा प्रहरी देखेपछि सास आयो, सुरक्षित महसुस भयो।’
कानुनी कारबाही
सार्वजनिक शान्ति तथा सुरक्षासम्बन्धी ऐन, २०२७ अनुसार उक्त पोशाकको प्रयोगले सार्वजनिक भ्रम, अशान्ति वा डर उत्पन्न गराउने उद्देश्य लिएको पाइयो भन यसलाई गम्भीर अपराध मानिन्छ र थप अनुसन्धान र कडा सजायको सिफारिस गर्न सकिन्छ।
त्यसैगरि प्रहरी पोशाक प्रयोग गरेर दङ्गा, आगजनी, लुटपाट, आक्रमण वा अन्य संगठित आपराधिक गतिविधि गरियो भने यो गम्भीर आपराधिक समूह अन्तर्गत पर्ने र यस्तो अवस्थामा १९ वर्ष सम्म कैद वा ठुलो जरिवाना हुन सक्छ।
जेनजी आन्दोलन निस्सन्देह न्याय, पारदर्शिता र भ्रष्टाचारविरुद्धको एक शक्तिशाली आवाज थियो। तर, यसको आडमा केही अराजक तत्वले गरेको विध्वंसले आन्दोलनको मर्ममाथि नै प्रश्न उठाएको छ।
यद्यपि, आन्दोलनमा निस्वार्थ भावले होमिएका युवाहरू अहिले सडक सफा गर्ने र पुनर्निर्माणमा जुटिरहेका छन्। उनीहरूको यो प्रयासले आन्दोलनको वास्तविक उद्देश्य विध्वंस होइन, निर्माण थियो भन्ने देखाउँछ।
भदौ २८, २०८२ शनिबार १३:५०:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।