मन्त्री बन्न लागेको होइन, आन्दोलनको मर्मलाई प्रदूषित हुन दिन्नँ : सुमना श्रेष्ठ

मन्त्री बन्न लागेको होइन, आन्दोलनको मर्मलाई प्रदूषित हुन दिन्नँ : सुमना श्रेष्ठ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ सुमना श्रेष्ठले नवनियुक्त अन्तरिम सरकारमा आफू मन्त्रीको रूपमा सहभागी नहुने घोषणा गरेकी छन्।

यद्यपि, उनले सुशीला कार्की नेतृत्वको सरकारलाई आफ्नो पूर्ण समर्थन रहने र यसलाई सफल बनाउन पृष्ठभूमिमा बसेर सक्रिय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

‘जेन-जी’ आन्दोलनपछि बनेको सरकारमा रास्वपाको सहभागितालाई लिएर भइरहेको चर्चाका बीच नेतृ श्रेष्ठले आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।

‘यो सरकारलाई असफल हुने सहुलियत छैन,’ उनले भनिन्, ‘पृष्ठभूमिमा बसेर यो सरकारलाई सफल गराउन मेरो अनुभव, सञ्जाल र समय दिनेछु, तर कुनै मन्त्रीको पद भने लिने छैन।’

आफू सत्ता बाहिर बस्नुको कारण खुलाउँदै उनले विगतका आन्दोलनहरूबाट पाठ सिक्नुपर्ने बताइन्।

‘हरेक आन्दोलनपछि जसको विरुद्ध आन्दोलन भएको हो, त्यही पुरानो शक्तिसँग लसपस हुँदा आन्दोलनको मर्म प्रदूषित भएको छ,’ श्रेष्ठले भनिन्, ‘यसपालिको आन्दोलनमा म त्यस्तो प्रदूषणको कारक बन्दिनँ। यसको उपलब्धि संस्थागत गर्न दिलोज्यान दिएर काम गर्छु।’

उनले अगाडि लेखेकी छन्-

‘सत्ता होइन, सेवा गर्ने!
कुर्सी होइन, कर्म गर्ने!
नाम होइन, काम गर्ने!’

भदौ २८, २०८२ शनिबार १२:०१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।