एप्पलले सार्वजनिक गर्यो आईफोन १७ सिरिज, कुन देशमा कति पर्छ मूल्य?

काठमाडौं : विश्वप्रसिद्ध प्रविधि कम्पनी एप्पलले मंगलबार आफ्नो ‘अ ड्रपिङ’ नामक विशेष कार्यक्रममा आईफोनका नयाँ मोडलहरू सार्वजनिक गरेको छ। कम्पनीले आईफोन १७, आईफोन १७ प्रो, आईफोन १७ प्रो म्याक्स र आईफोन एयर गरी चार नयाँ मोडल बजारमा ल्याएको हो।
यस पटकको सबैभन्दा उल्लेखनीय परिवर्तन आईफोन १७ को बेस भेरियन्टमा गरिएको छ। यसको मूल्य अघिल्लो संस्करणभन्दा केही महँगो भए पनि अब यसमा न्यूनतम २५६ जीबीको स्टोरेज उपलब्ध हुनेछ, जुन आईफोन १६ को भन्दा दोब्बर हो।
आईफोन १७ सिरिजका सबै मोडलहरू भारतलगायतका देशमा सेप्टेम्बर १२ देखि प्रि-अर्डरका लागि उपलब्ध हुनेछन् भने सेप्टेम्बर १९ देखि स्टोरहरूमा बिक्री सुरू हुनेछ। एप्पलले यस पटक सबै मोडलको मूल्यमा केही वृद्धि गरेको छ। भारतमा आईफोन १७ को सुरुवाती मूल्य भारु ८२ हजार ९०० (नेरु १ लाख ३२ हजार ६४०) तोकिएको छ।
त्यस्तै, आईफोन १७ प्रो को मूल्य भारु १ लाख ३४ हजार ९०० (नेरु २ लाख १५ हजार ८४०) र आईफोन १७ प्रो म्याक्सको मूल्य भारु १ लाख ४९ हजार ९०० (नेरु २ लाख ३९ हजार ८४०) बाट सुरू हुनेछ।
विदेशबाट किनेको आईफोन नेपालमा सजिलै चल्छ, एमडीएमएसका कारण पछि यसले समस्या उत्पन्न गर्नसक्छ। यसका अलावा खरिद गर्नुअघि केही कुराहरूमा ध्यान दिनु जरुरी छ।
सिम स्लट: यदि तपाईंले अमेरिकाबाट आईफोन १७ खरिद गर्नुभयो भने, त्यसमा फिजिकल सिम कार्ड स्लट हुँदैन। अमेरिकी मोडलले केवल ई-सिम मात्र सपोर्ट गर्छ। जबकि नेपाल र भारतमा बिक्री हुने संस्करणमा फिजिकल नानो-सिम स्लट र ई-सिम दुवैको सुविधा हुन्छ।
क्यारियर-लक: केही देशहरूमा ‘क्यारियर-लक’ आईफोनहरू बिक्री हुन्छन्, जसको अर्थ ती फोनले निश्चित दूरसञ्चार कम्पनीको सिम कार्डमा मात्र काम गर्छन्। यस्ता फोनले नेपालको सिम कार्डमा काम नगर्न सक्छन्। त्यसैले ‘फ्याक्ट्री अनलक’ फोन किन्नु बुद्धिमानी हुन्छ।
वारेन्टी: वारेन्टीको कुरा गर्दा, सबै आईफोनहरूमा 'ग्लोबल वारेन्टी' हुने भएकाले तपाईंले चिन्ता लिनु पर्दैन। खरिद गरेको देशमा फिर्ता नपठाईकनै नेपालको आधिकारिक सर्भिस सेन्टरबाट वारेन्टी सेवा लिन सकिन्छ। भारत वा नेपालको तुलनामा अन्य देशहरूमा आईफोन निकै सस्तोमा किन्न सकिन्छ।
आईफोन १७ (बेस मोडल):
अमेरिका: करिब भारु ७० हजार ५०० (नेरु १ लाख १२ हजार ८००)
क्यानडा: करिब भारु ७२ हजार ५०० (नेरु १ लाख १६ हजार)
आईफोन १७ प्रो:
अमेरिका: करिब भारु ९७ हजार (नेरु १ लाख ५५ हजार २००)
क्यानडा: करिब भारु १ लाख १ हजार ९०० (नेरु १ लाख ६३ हजार ४०)
हङकङ: करिब भारु १ लाख ४ हजार (नेरु १ लाख ६६ हजार ४००)
आईफोन १७ प्रो म्याक्स:
अमेरिका: करिब भारु १ लाख ५ हजार ८०० (नेरु १ लाख ६९ हजार २८०)
क्यानडा: करिब भारु १ लाख १४ हजार ४०० (नेरु १ लाख ८३ हजार ०४०)
हङकङ: करिब भारु १ लाख १२ हजार ८०० (नेरु १ लाख ८० हजार ४८०)
भदौ २८, २०८२ शनिबार ११:०७:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।