जेनजी आन्दोलनले पर्यटन क्षेत्रमा २५ अर्बको क्षति

काठमाडौं : भूकम्प, नाकाबन्दी र कोरोना महामारीको लामो पीडापछि बल्लतल्ल तंग्रिन खोज्दै थियो नेपालको पर्यटन क्षेत्र।
पर्यटकीय सिजनको मुखैमा विदेशी पाहुनालाई स्वागत गर्न तम्तयार व्यवसायीका सपनामाथि ‘जेन-जी’ आन्दोलन तुषारापात बनेर बर्सिएको छ।
भदौ २३ र २४ गतेको प्रदर्शनले देशको भौतिक संरचना मात्र भत्काएन, अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि र अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन क्षेत्रलाई पनि गहिरो चोट पुर्याएको छ।
यो संकटले मानवीय क्षति त भयो नै, सँगसँगै पर्यटन पूर्वाधारमा भएको तोडफोड र आगजनीले अर्बौंको नोक्सानी भएको छ।
तर, कालो बादलमा चाँदीको घेरा भनेझैँ, यो निराशाको बीचमा पनि विज्ञ र व्यवसायीहरूले पर्यटन क्षेत्र छिट्टै पुनर्जीवित हुनेमा विश्वास व्यक्त गरेका छन्।
आन्दोलनका क्रममा काठमाडौं, पोखरा, बुटवल, विराटनगरलगायतका शहरमा रहेका करिब दुई दर्जन प्रतिष्ठित होटलहरूमा तोडफोड, आगजनी र लुटपाट भयो।
होटल संघ (हान)का अनुसार, यसबाट पर्यटन क्षेत्रले करिब २५ अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति बेहोरेको प्रारम्भिक अनुमान छ।
काठमाडौंको हिल्टन होटलमा मात्रै ८ अर्बभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।
यो भौतिक क्षतिसँगै पर्यटकीय सिजनका लागि गरिएका धेरै बुकिङहरू रद्द भएका छन्, जसले व्यवसायीहरूमा एक प्रकारको अन्योलता छाएको छ।
यो विषम परिस्थितिका बीच पनि विज्ञहरूले नेपालको पर्यटन छिट्टै लयमा फर्किने आशा देखाएका छन्। पूर्वअर्थसचिव रामेश्वर खनालले अहिलेको अवस्था विगतका विपत्तिभन्दा फरक रहेको बताए।
‘पहिलो कुरा, यो आन्दोलन पर्यटक लक्षित थिएन। त्यसैले पर्यटकलाई प्रत्यक्ष खतरा छैन,’ उनले भने, ‘विगतका विपत्तिजस्तो होइन, केही पूर्वाधारमा मात्र क्षति भएको हो। पदयात्रा, धार्मिक र साहसिक पर्यटनमा कुनै असर छैन। यो अवस्था छिट्टै सुध्रिन्छ।’
अर्थशास्त्री डा. समिर खतिवडा पनि पर्यटनको सम्भावना अझै प्रचुर रहेको बताउँछन्।
‘यो प्रदर्शनले नेपाललाई सुशासनको बाटोमा जान एक ‘कोर्स करेक्सन’ को अवसर दिएको छ,’ उनले भने, ‘सरकारले अन्तर्राष्ट्रिय जगतमा सकारात्मक प्रचारप्रसार गर्न आवश्यक छ। हाम्रो पर्यटन चाँडै उठ्छ।’
संकटपछि पर्यटन क्षेत्रका सरोकारवालाहरू पुनरुत्थानको योजना बनाउन एकजुट भएका छन्।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटनलाई कसरी छिटोभन्दा छिटो पुरानै अवस्थामा फर्काउने भनेर निजी क्षेत्रसँग मिलेर ‘ड्राफ्ट प्लान’ बनाइरहेको जानकारी दिए।
‘अहिले नेपालमा करिब १५ हजार विदेशी पर्यटक छन्। उनीहरूलाई सुरक्षित महसुस गराउनु हाम्रो पहिलो प्राथमिकता हो,’ जोशीले भने, ‘विगतको अनुभव र अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगमा हामी छिट्टै पर्यटनलाई पुनर्जीवित गर्नेछौँ।’
होटल संघका अध्यक्ष विनायक शाहले पनि सबै मिलेर नेपालबाट सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए।
‘देशलाई आर्थिक समृद्धि दिनसक्ने महत्त्वपूर्ण क्षेत्र पर्यटन नै हो,’ उनले भने, ‘हामी फेरि उठ्नेछौँ।’
नेपाल पर्वतारोहण संघ र ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) लगायतका संस्थाहरूले पनि संयुक्त विज्ञप्ति निकाल्दै शान्तिपूर्ण वातावरण बनाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारसँग अपिल गरेका छन्।
भदौ २८, २०८२ शनिबार १०:४०:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।