संसद विघटन ‘असंवैधानिक र स्वेच्छाचारी’ भन्दै नेपाल बारले भन्यो- पुनःस्थापना हुनुपर्छ

संसद विघटन ‘असंवैधानिक र स्वेच्छाचारी’ भन्दै नेपाल बारले भन्यो- पुनःस्थापना हुनुपर्छ

काठमाडौं : नेपाल बार एसोसिएसनले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको प्रतिनिधिसभा विघटनलाई ‘असंवैधानिक र स्वेच्छाचारी’ भन्दै कडा भर्त्सना गरेको छ।

शुक्रबार संसद विघटन भएलगत्तै विज्ञप्ति जारी गर्दै बारले यो कदम विधिको शासन, संवैधानिक सर्वोच्चता र संविधानवादको ठाडो उल्लंघन भएको ठहर गरेको हो।

‘प्रतिनिधिसभा विघटन गर्ने गरी राष्ट्रपतिबाट भएको निर्णय स्वेच्छाचारी र असंवैधानिक रहनुका साथै कानूनको शासन, संवैधानिक सर्वोच्चता एवं संविधानवाद समेतको प्रत्यक्ष विपरीत रहेको निष्कर्षसहित यस कदमको कडा भर्त्सना गर्दछ’, बारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपतिको यो कदमले लोकतन्त्रका लागि नेपाली जनताले गरेको लामो र कठिन संघर्षबाट प्राप्त संघीयता, गणतन्त्र र समावेशिताजस्ता उपलब्धिहरू खोस्ने खतरा बढेको बारको ठहर छ।

संविधानलाई ‘राष्ट्रिय सहमतिको बृहत् परिणाम’ भन्दै बारले राष्ट्रपतिको यो कदम सर्वोच्च अदालतले यसअघि गरेका संसद पुनःस्थापनासम्बन्धी ऐतिहासिक फैसलाहरूको समेत विरुद्धमा रहेको स्पष्ट पारेको छ।

विज्ञप्तिमा बारले लोकतन्त्रको तत्काल पुनःस्थापना गर्न र संवैधानिक सर्वोच्चताको अटल पालना सुनिश्चित गर्न जोडदार माग गरेको छ।

भदौ २८, २०८२ शनिबार १०:०४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।