नेपालीमै पोस्ट गर्दै मोदीले दिए सुशीलालाई शुभकामना, भने- ‘नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध’

नेपालीमै पोस्ट गर्दै मोदीले दिए सुशीलालाई शुभकामना, भने- ‘नेपालको समृद्धिप्रति भारत प्रतिबद्ध’

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएका छन्।

उनले नेपाल र नेपालीको शान्ति, प्रगति र समृद्धिका लागि भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि बताएका छन्।

सामाजिक सञ्जाल ‘एक्स’ मार्फत नेपाली भाषामै शुभकामना दिँदै मोदीले लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्णरूपमा प्रतिबद्ध छ।’

मोदीको शुभकामना सन्देश आउनुअघि भारतको विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गरेको थियो।

पूर्वप्रधानन्यायाधीश कार्कीले शुक्रबार पदभार ग्रहण गरेलगत्तै मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी सुशीला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ। हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्न मद्दत गर्नेछ।’

विज्ञप्तिमा भारतले नजिकको छिमेकी र लोकतान्त्रिक मित्रको रूपमा नेपालको समृद्धि र कल्याणका लागि मिलेर काम गरिरहने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध ‘जेन-जी’ युवाहरूले भदौ २३ र २४ गते गरेको प्रदर्शन हिंसात्मक बनेपछि नेपाली सेनाले सुरक्षाको जिम्मा लिएको थियो। सोही परिस्थितिलाई मध्यनजर गर्दै प्रधानसेनापति सिग्देलको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन गरेका हुन्।

यससँगै वर्तमान प्रतिनिधिसभा विघटन गरिएको छ र आगामी फागुन २१ गते मध्यावधि निर्वाचनको मिति तोकिएको छ।

भदौ २८, २०८२ शनिबार ०९:५२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।