कारागार तोडफोड गरी भागेका ८ कैदी रुपन्देहीमा पक्राउ, विदेशी नागरिक पनि समातिए

कारागार तोडफोड गरी भागेका ८ कैदी रुपन्देहीमा पक्राउ, विदेशी नागरिक पनि समातिए

बुटवल : ‘जेन-जी’ आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारमा भएको तोडफोड र आगजनीको मौका छोपी फरार भएका छ विदेशीसहित आठ जना कैदीबन्दीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार चितवन, नवलपरासी र काठमाडौंको केन्द्रीय कारागारबाट भागेका उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा ४ जना भारतीय, २ जना तान्जानियाली र २ जना नेपाली नागरिक छन्। जसमध्ये चार भारतीय नागरिक चितवन कारागारबाट भागेका थिए।

पक्राउ पर्नेमा अङ्गभङ्ग मुद्दाका २४ वर्षीय अव्वास खान रहेका छन् भने  लागुऔषध मुद्दाका ४८ वर्षीय अनिल गिरी, ४१ वर्षीय राजपाल सिंह र ३८ वर्षीय मोनु कश्यप रहेका छन्। यी सबै भारतको उत्तर प्रदेशका हुन्।

यसैगरी, नवलपरासी कारागारबाट फरार भएकी रुपन्देही सैनामैना-७ की ५२ वर्षीया करिस्मा रानालाई पनि पक्राउ गरिएको छ। उनी बहुविवाह मुद्दामा कैद भुक्तान गरिरहेकी थिइन्।

केन्द्रीय कारागार, काठमाडौंबाट भागेका तीन जनालाई पनि रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा लागुऔषध (कोकिन) मुद्दामा कैद सजाय काटिरहेका तान्जानियाका ५३ वर्षीय साम्बा र ४७ वर्षीय पासुवा रहेका छन्।

त्यस्तै, कर्तव्य ज्यान मुद्दामा केन्द्रीय कारागारमा रहेका बाग्लुङ, पाण्डवखानी-९ का ३७ वर्षीय नविनबहादुर पुनलाई इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीले पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि सम्बन्धित कारागारमा फिर्ता पठाउने प्रक्रिया सुरु गरिएको जानकारी दिए।

भदौ २८, २०८२ शनिबार ०९:४२:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।