जेन-जी आन्दोलन : दुई महिनाकी दुलही छाडेर अस्ताए असहाव, छाती र पेटमा लागेको थियो प्रहरीको गोली

वीरगञ्ज : हातमा लगाएको मेहन्दीको गाढा रङ अझै मेटिएको थिएन। जीवनका हजारौँ सपना आँखामा सजाएर दुई महिनाअघि मात्रै भारतको बिहारबाट एउटा नयाँ घरमा भित्रिएकी थिइन्, रोक्सिता खातुन।
तर, नियतिले उनको खुसी र सपनामाथि यस्तो बज्रपात गर्यो कि अब उनको सिउँदो रित्तिएको छ र आँखामा आँसुको भेलबाहेक केही बाँकी छैन। वीरगञ्ज महानगर-१२, मुर्लीका २२ वर्षीय असहाव आलम ठकुराई अब यो संसारमा रहेनन्।
काठमाडौंमा भएको ‘जेन-जी’ आन्दोलनका क्रममा प्रहरीको गोली लागेर उनको ज्यान गयो। यो खबरले उनको परिवारमा मात्र होइन, वीरगञ्जको सिङ्गो मुर्ली बस्तीमा शोकको कालो बादल मडारिएको छ।
तीन वर्षदेखि काठमाडौंमा बसेर पढाइ र सानोतिनो काम गर्दै परिवारको सहारा बन्ने सपना देखेका थिए असहावले। पठाओ चलाएर आफ्नो खर्च जुटाउँथे।
मंगलबार पनि उनी सधैँ झैँ यात्रुलाई गन्तव्यमा पुर्याउन निस्किएका थिए। तर, गोंगबु जाने क्रममा सडकमा चलिरहेको आन्दोलनको भुमरीमा उनी यसरी फसे कि फेरि कहिल्यै घर फर्किएनन्। परिवारका अनुसार, त्यही भिडमा प्रहरीले चलाएको गोली उनको छाती र पेटमा लाग्यो।
छोरो गुमाएको खबरले आमा नजला खातुनको संसार उजाडिएको छ। उनी घरी रुन्छिन्, घरी भक्कानिन्छिन्, घरी मुर्छा पर्छिन्।
आँसुले भिजेको पछ्यौराले मुख छोप्दै उनी बिलौना गर्छिन्, ‘मेरो छोरा त श्रवणकुमार जस्तै थियो। हामीलाई औधी माया गर्थ्यो। भर्खरै बिहे गरेर बुहारीको हात समातेको थियो। अब मेरी सोझी बुहारीले कसको मुख हेरेर बाच्ली?’
उनको प्रश्नको जवाफ कसैसँग छैन।
‘प्रहरीले मेरो निर्दोष छोरालाई किन मार्यो? के अपराध थियो उसको?’, उनी बारम्बार यही प्रश्न सोधिरहन्छिन्।
अर्को कुनामा पत्थरको मूर्ति झैँ बसेकी छिन्, दुई महिनाकी दुलही रोक्सिता। उनको आँखाबाट आँसु पनि रित्तिएजस्तो देखिन्छ। उनी एकोहोरो टोलाइरहन्छिन्, सायद ती दुई महिनाका सुनौला पलहरू सम्झँदै।
पाँच भाइमध्येका तेस्रो छोरा असहाव परिवारका लागि ठूलो आशा थिए। वीरगञ्जको ग्लोबल विजनेस कलेजबाट म्यानेजमेन्टमा १२ कक्षा पास गरेपछि उनी ठूलो मान्छे बन्ने सपना बोकेर काठमाडौं पसेका थिए। तर, उनको सपनासँगै उनको जीवन पनि अधुरै रह्यो।
मंगलबार बिहानदेखि सम्पर्कविहीन भएपछि आत्तिएको परिवारले जताततै खोजी गर्यो। छिमेकी मनोज गुप्ताका अनुसार, खोज्दै जाँदा उनको शव महाराजगञ्जस्थित शिक्षण अस्पतालको चिसो शवगृहमा भेटियो।
‘भाइको छाती र पेटमा दुईवटा गोली लागेको रहेछ,’ मनोजले गहभरी आँसु पार्दै भने, ‘अब उसको शव बाकसमा बन्द भएर घर फर्किँदैछ।’्
असहावको निधन एक परिवारको मात्र पीडा बनेन, यो सिङ्गो मुर्ली बस्तीको साझा घाउ बनेको छ।
‘ऊ त हाम्रो आँखाको नानी थियो, सबैको प्यारो’, छिमेकीहरू भन्छन्।
भतिजाको मृत्युले काका असराल आलमको मन छियाछिया भएको छ।
‘यो पीडा हामीले कसरी सहनु?’ उनी भन्छन्, ‘हाम्रो भाइको बलिदानले यो देशमा केही राम्रो होस्, उसको आत्माले शान्ति पाओस्।’
शुक्रबार साँझ, मुर्लीका सयौँ बासिन्दा वीरगञ्जको प्रतिमाचोकमा जम्मा भए। उनीहरूले हातमा मैनबत्ती बालेर आफ्नो प्यारो छोरा, भाइ र साथी असहावलाई सम्झिए।
राससमा आएको समाचार सम्पादन गरिएको
भदौ २८, २०८२ शनिबार ०९:२६:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।