ट्रम्पका विश्वास पात्र चार्ली कर्कको हत्यापछि पत्नी एरिकाले दिइन् पहिलो सार्वजनिक बयान

एजेन्सी : अमेरिकाका चर्चित कन्जरभेटिभ अभियानकर्मी तथा मिडिया हस्ती चार्ली कर्कको हत्यापछि उनकी पत्नी एरिका कर्कले पहिलो पटक सार्वजनिक बयान दिएकी छन्।
आफ्नो भावुक बयानमा उनले पतिको विरासतलाई निरन्तरता दिने वाचा गरेकी छन् भने हत्यारालाई कडा चेतावनी समेत दिएकी छन्।
बयानमा उनले गोली लागेपछि चार्लीको ज्यान बचाउन अन्तिम प्रयास गरेका प्रहरी र आपतकालीन उद्धारकर्मीहरूलाई धन्यवाद दिइन्। यसैगरी, उनले चार्लीको टिम, अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति पनि आभार व्यक्त गरिन्।
उनले राष्ट्रपति ट्रम्पलाई सिधै सम्बोधन गर्दै भनिन्, ‘तपाईंले उहाँलाई जसरी समर्थन गर्नुभयो, उहाँले पनि तपाईंलाई त्यसरी नै समर्थन गर्नुभयो।’
एरिकाले चार्ली कर्कको सन्देश, उनको क्याम्पस भ्रमण र पोडकास्टलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।
पतिको हत्यारालाई लक्षित गर्दै उनले भनिन्, ‘तिमीलाई थाहा छैन कि तिमीले यो पत्नीभित्र कस्तो आगो जलाइदियौ। यो विधवाको पुकार संसारभर युद्धघोष बनेर गुन्जिनेछ।’
उनले अगाडि भनिन्- ‘अराजकता, शंका र अनिश्चितताले भरिएको यो संसारमा मेरो पतिको आवाज सधैं जीवित रहनेछ।’
३१ वर्षीय चार्ली कर्कलाई गत बुधबार यूटा राज्यको एक कलेजमा गोली हानी हत्या गरिएको थियो। उनी अमेरिकाभरका कलेज क्याम्पसहरूमा खुला बहस आयोजना गर्नका लागि प्रख्यात थिए।
राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र सहयोगी मानिने कर्कको हत्यामा संलग्न संदिग्धलाई प्रहरीले पक्राउ गरिसकेको छ।
भदौ २८, २०८२ शनिबार ०९:१०:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।