विहारका उपमुख्यमन्त्रीको विवादित बयान- ‘नेपाल भारतको हिस्सा भएको भए अराजकता हुन्थेन’

एजेन्सी : भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता तथा विहारका उपमुख्यमन्त्री सम्राट चौधरीले नेपालको सार्वभौमिकतामाथि प्रश्न उठाउँदै एक विवादित अभिव्यक्ति दिएका छन्।
उनले नेपाल भारतको हिस्सा भएको भए त्यहाँ अहिलेको जस्तो ‘अराजकता’ नहुने र देश समृद्ध बन्ने टिप्पणी गरेका हुन्।
भारतीय कांग्रेस पार्टीको नीतिको आलोचना गर्ने क्रममा चौधरीले उक्त भनाइ राखेका थिए। उनले नेपाल र पाकिस्तानजस्ता देशहरू छुट्टै रहनुमा कांग्रेसको ऐतिहासिक गल्ती भएको आरोप लगाए।
नेपालमा भएको जेन-जी आन्दोलनबारे सञ्चारकर्मीमाझ बोल्दै चौधरीले भने, ‘कांग्रेसले नेपाल लगायतका देशहरूलाई छुट्टै राख्यो। यदि आज नेपाल भारतको अंग हुन्थ्यो भने त्यहाँ शान्ति र खुसियाली हुन्थ्यो।’
उनले नेपालमा हाल देखिएको असन्तोषलाई ‘अराजकता’को संज्ञा दिँदै थपे, ‘मानिसमा असन्तोष हुन्छ तर अराजकता हुनुहुँदैन। यदि भारतको अंग भएको भए नेपाल पनि समृद्ध हुन्थ्यो।’
चौधरीले आफ्नो तर्कलाई पाकिस्तानसँग पनि जोड्दै भने, ‘यदि पाकिस्तान भारतको अंग हुन्थ्यो भने त्यो पनि भारतसँगै समृद्ध हुन्थ्यो। कांग्रेसको गल्तीका कारण हामीले यस्ता छिमेकी झेल्न परिरहेको छ।’
भदौ २८, २०८२ शनिबार ०९:०२:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।