उपत्यकामा लगाइएको कर्फ्यू हट्यो, जनजीवन सामान्य बन्दै

काठमाडौं : ‘जेन-जी’ आन्दोलनपछिको असहज परिस्थितिलाई सामान्य बनाउन नेपाली सेनाले काठमाडौं उपत्यकालगायतका जिल्लामा लगाएको कर्फ्यू र निषेधाज्ञा हटाइएको छ।
शनिबार साँझदेखि नयाँ आदेश जारी नभएपछि आइतबार बिहानबाट जनजीवन सामान्य बनेको छ र सडकमा चहलपहल बढेको छ।
नेपाली सेनाले जेन-जी आन्दोलनपछिको विषम परिस्थिति र असुरक्षालाई कारण देखाउँदै विगत चार दिनदेखि निषेधाज्ञा र कर्फ्यू लगाउँदै आएको थियो।
पछिल्ला दिनहरूमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा र साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लागु गरिएको थियो। अत्यावश्यक कामका लागि भने बिहान र साँझको समयमा केही घण्टा खुकुलो बनाइएको थियो।
जेन-जी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले शनिबार राति पद तथा गोपनीयताको शपथ लिएसँगै परिस्थिति सहज बन्न थालेको हो।
नयाँ सरकार गठन र शपथ ग्रहणपछि थप कर्फ्यू आदेश जारी नगरिएको हो, जसले गर्दा आज बिहान ६ बजेपछि उपत्यका पूर्ण रूपमा खुला भएको छ।
भदौ २८, २०८२ शनिबार ०८:४१:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।