धरानस्थित भाटभटेनीमा जलेको अवस्थामा चार शव फेला

धरान : आन्दोलनकारीले जलाएको धरान उपमहानगरपालिका–९ स्थित पुतलीलाइनको भाटभटेनी सुपरमार्केटमा चार जनाको शव फेला परेको छ।
जलेको अवस्था भेटिएका ती शव यही भदौ २४ गते मङ्गलबार जेनजी आन्दोलनका क्रममा सुपरमार्केटभित्र पसेको आन्दोलनकारी हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।
खतिवडाका अनुसार आगजनीमा ती व्यक्ति सुपरमार्केटभित्रै फसेका थिए। मृतकमध्ये तीन जनाको शव चौथो तलामा र एक जनाको दोस्रो तलामा फेलापरेको उनले जानकारी दिए।
प्रवक्ता खतिवडाले भने, “जलेको अवस्था रहेकाले शवहरूको पहिचान तत्काल सम्भव नभएको र अब डिएनए परीक्षणबाट मात्र पहिचान हुनेछ ।” सबै शवको मुचुल्का उठाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको उनले बताए।
भदौ २४ गते बेलुका करिब ७ः०० बजे ‘जेनजी आन्दोलन’का क्रममा एक समूहले भाटभटेनी सुपरमार्केटको सटर फोडी पेट्रोल खन्याएर आगो लगाएका थिए । सो आगलागी आज बिहानमात्र नियन्त्रणमा आएको थियो ।
भदौ २७, २०८२ शुक्रबार १८:१०:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।