‘तीन दल आयोग गठन गर्न नमानेको भन्नु भ्रम हो, हामी आयोगको पक्षमा छौं’

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन दलका नेता जेनजीको आन्दोलन र भ्रष्टाचारबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न नमानेको भन्ने समाचार भ्रामक भएको दाबी गरेका छन्।
शुक्रवार दिउँसो उनले भिडियो सन्देश जारी गर्दै पार्टीको एजेण्डा सोमबार र मंगलबारको आन्दोलनमा भएको हिंसात्मक घटनाबारे छानबिन गर्न र २०४६ पछि शक्तिशाली पदमा रहेकाको सम्पत्तिको छानबिन गर्न अधिकारसम्पन्न आयोग गठनको प्रस्ताव अगाडि बढाएका थिए।
तर एकाएक कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता अधिकारसम्पन्न आयोग गठन गर्न नमानेपछि सुशीला कार्की चुनावी सरकारको प्रधानमन्त्री बन्न अस्विकार गरेको दाबीहरू सार्वजनिक भएको थियो।
एक्समा लेख्दै थापाले ‘यो सरासर गलत र भ्रामक’ भएको दाबी गर्दै लेखे ‘हामी दमन र विध्वश विरुद्धको एउटा र भ्रष्टाचार विरुद्धको अर्को शक्तिशाली आयोग बनाएर जानुपर्छ भन्ने पक्षमा दृढ छौं।’
उनले देशसञ्चारको समाचारको स्क्रिनसट राख्दै ‘संवेदनशील अवस्थामा भ्रमको खेती नगर्न’ आग्रह गरेका छन्।
देशसंचारका प्रधानसम्पादक युवराज घिमिरेले २०६२/०६३ को जनआन्दोलनबाट गणतन्त्र घोषणा गर्ने प्रक्रियाको विपक्षमा मत राख्दै आएका छन्। राजतन्त्र कि गणतन्त्र भन्ने विषयमा निर्णय गर्नु अगाडि जनमत संग्रह गर्नुपर्ने उनको मत देखिन्छ।
भदौ २७, २०८२ शुक्रबार १७:३६:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।