सर्वसाधारणले सेनालाई पेस्तोल बुझाए, हालसम्म २६८ हतियार बरामद

काठमाडौं : जेन-जी आन्दोलनपछिको असहज परिस्थितिमा सुरक्षा व्यवस्था सामान्य बनाउने क्रममा नेपाली सेनाले हतियार बरामदको कामलाई तीव्रता दिएको छ।
यसैबीच, एक व्यक्तिले आफूसँग रहेको चाइनिज पेस्तोल सेनाको गस्ती टोलीलाई बुझाएका छन् भने हालसम्म देशभरबाट २६८ नाल हतियार बरामद भइसकेको सेनाले जनाएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सिन्धुली जिल्ला, मरिन-४ स्थायी घर भएका एक व्यक्तिले काठमाडौंको डल्लु क्षेत्रमा गस्तीमा रहेको सेनाको टोलीलाई ९ एमएमको एकनाले चाइनिज पेस्तोल बुझाएका हुन्।
सर्वसाधारणले स्वस्फूर्त रूपमा हतियार बुझाउनुले सुरक्षा निकायप्रतिको विश्वास बढ्दै गएको र शान्ति सुरक्षाप्रति नागरिक सचेतना देखाएको संकेत गर्दछ।
यो घटनासँगै सेनाले हालसम्म विभिन्न स्थानहरूबाट २६८ नाल हतियार बरामद गरिसकेको जनाएको छ।
आन्दोलनका क्रममा सुरक्षा निकायका पोष्टहरूबाट लुटिएका तथा अन्य तरिकाले गैरकानुनी हातमा पुगेका हतियारहरू फिर्ता ल्याउनुलाई सेनाले मुख्य प्राथमिकतामा राखेको छ।
सेनाले गैरकानुनी हतियार राख्ने जोकोहीलाई नजिकको सुरक्षा निकायमा बुझाउन र शान्ति स्थापनामा सहयोग गर्न आग्रह गर्दै आएको छ।
भदौ २७, २०८२ शुक्रबार १६:५२:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।