रविको पत्रबारे नख्खु कारागारका प्रमुखले भने, ‘पत्रबारे थाहा छैन, जेलको सम्पर्कमा आउनुहोस्’

रविको पत्रबारे नख्खु कारागारका प्रमुखले भने, ‘पत्रबारे थाहा छैन, जेलको सम्पर्कमा आउनुहोस्’

काठमाडौं : नख्खु कारागारका प्रमुख सत्यराज जोशीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सार्वजनिक गरेको पत्रको व्यहोरा नमिल्ने भन्दै उनलाई नजिकको प्रहरी कार्यालय वा कारागार प्रशासनको सम्पर्कमा आउन आग्रह गरेका छन्।

उनले कारागारका सुरक्षाकर्मी र कर्मचारी नै बाँच्न नसक्ने अवस्था आएपछि सबै कैदीबन्दीलाई छाड्नुपर्ने बाध्यता सिर्जना भएको र सोही क्रममा रवि लामिछाने पनि बाहिर निस्किएको स्पष्ट पारे। लामिछानेले सार्वजनिक गरेको पत्र कहाँबाट आयो भन्ने विषय उनैले खुलाउनुपर्ने आचार्यको भनाइ छ।

‘सार्वजनिक भएको पत्रको व्यहोरा केही पनि मिलेको छैन। उहाँहरूले कहाँबाट पत्र पाउनुभयो, त्यो उहाँले नै जान्ने विषय भयो। हामीले उहाँसहित सबै कैदीबन्दीलाई नजिकको प्रहरी कार्यालय वा कारागार प्रशासनको सम्पर्कमा आउन सूचना जारी गरिसकेका छौँ’, उनले हिमालय टिभीसँग भने।

जेन-जी आन्दोलनका क्रममा मंगलबार रास्वपाका सांसद हरि ढकालसहितको समूह लामिछानेलाई कारागारबाट निकाल्न दबाब दिन नख्खु पुगेको थियो।

सोही क्रममा सुरक्षा व्यवस्था बिग्रिएपछि रवि लामिछानेसहित ६०० कैदीबन्दी बाहिर निस्किएका थिए। नख्खुबाट कैदीबन्दी निस्किएपछि देशभरका अन्य कारागारमा समेत विद्रोह हुँदा ६ हजारभन्दा बढी कैदीबन्दी फरार भएका थिए।

कारागार प्रमुख आचार्यले प्रदर्शनकारीले कारागारका तीनवटा ब्लकमध्ये दुईवटा ध्वस्त पारेको र एउटा ब्लक मात्र कैदीबन्दी राख्न सक्ने अवस्थामा रहेको जानकारी दिए। प्रहरीको रोहवरमा अहिले क्षतिको मुचुल्का उठाउने काम भइरहेको उनले बताए।

हालसम्म १०० जना कैदीबन्दी कारागार प्रशासनको सम्पर्कमा आइसकेको र उनीहरूलाई राख्ने व्यवस्था मिलाइएको भन्दै उनले फरार रहेका अन्य कैदीबन्दी सम्पर्कमा आएपछि उनीहरूको पनि व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी दिए।

भदौ २७, २०८२ शुक्रबार १६:३८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।