आक्रमण र आगजनीको तीन दिनपछि कान्तिपुर टेलिभिजन पुनः प्रसारणमा, जलेको भवनबाटै सुरू भयो काम

आक्रमण र आगजनीको तीन दिनपछि कान्तिपुर टेलिभिजन पुनः प्रसारणमा, जलेको भवनबाटै सुरू भयो काम

काठमाडौं : जेन-जी आन्दोलनका क्रममा भएको भीषण आक्रमण र आगजनीका कारण तीन दिनसम्म बन्द रहेको कान्तिपुर टेलिभिजन पुनः प्रसारणमा आएको छ।

आन्दोलनकारीको तोडफोड र आगजनीका कारण टेलिभिजनको प्रसारण भदौ २४ गते मंगलबार दिउँसो २ बजेदेखि पूर्ण रूपमा रोकिएको थियो।

अनेकौँ प्राविधिक तथा भौतिक चुनौतीका बीच, तीन दिनपछि भदौ २७ गते दिउँसो ४ बजेबाट कान्तिपुरले जलेकै भवनबाट आफ्नो नियमित प्रसारण सुरू गरेको हो।

टेलिभिजनका प्रधान सम्पादक विजय पौडेलले जलेको र ध्वस्त भएको भवनबाटै काम सुरु गर्नुलाई पत्रकारिताप्रतिको अटल प्रतिबद्धताको प्रतीकको रूपमा बताएका छन्।

उनले भनेका छन्, ‘जलेर सेलाउन नपाएको भवनबाट हामीले कार्य सञ्चालन सुरु गरिसकेका छौँ।’

टेलिभिजनको प्रसारण सुरु भए पनि कान्तिपुर टीभीको अनलाइन समाचार पोर्टल भने अझै सञ्चालनमा आउन सकेको छैन।

आक्रमणका क्रममा तीनकुने र थापाथलीमा रहेका मुख्य सर्भरहरू जलेर पूर्ण रूपमा नष्ट भए। ईकान्तिपुरको वेबसाइट भने बिहिबारबाट पुनः सञ्चालनमा आइसकेको छ।

भदौ २७, २०८२ शुक्रबार १६:२०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।