नोबेल शान्ति पुरस्कार दिन ट्रम्पले दबाब दिएपछि समितिले भन्यो- कसैको दबाबले असर पार्दैन

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोबेल शान्ति पुरस्कार पाउन खुलेर इच्छा व्यक्त गरे पनि नर्वेली नोबेल समितिले बाह्य दबाब वा प्रचारले आफूहरूलाई असर नगर्ने स्पष्ट पारेको छ।
जनवरीमा पुनः ह्वाइट हाउस फर्किएका ७९ वर्षीय ट्रम्पले गाजा र युक्रेनमा शान्ति ल्याउने प्रयास गरेको दाबी गर्दै आफू पुरस्कारको योग्य भएको बताउँदै आएका छन्। उनले बारम्बार सन् २००९ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले अप्रत्याशित रूपमा नोबेल शान्ति पुरस्कार पाएको प्रसंग पनि दोहोर्याएका छन्।
“मिडियाले विशेष उम्मेदवारतर्फ धेरै ध्यान दिन्छ, तर यसले समितिको छलफललाई प्रभावित गर्दैन,” समितिका सचिव क्रिस्टियन बर्ग हार्पभिकेनले एएफपीसँग भने, “हामी प्रत्येक नामाङ्कनलाई आफ्नै योग्यताका आधारमा मूल्याङ्कन गर्छौं ।”
यो वर्षको विजेता अक्टोबर १० मा घोषणा हुने छ। समितिसामु तीन सय ३८ जना उम्मेदवार र संस्थाको नामाङ्कन पेश भएको छ, तर सूची ५० वर्षसम्म गोप्य रहने प्रावधान छ। ट्रम्पले विदेशी नेताबाट मनोनयन पाएको दाबी गरे पनि जनवरी ३१ पछि पेश गरिएका मनोनयन यस वर्षका लागि मान्य नहुने स्पष्ट गरिएको छ।
हार्पभिकेनका अनुसार, “नामाङ्कन हुनु मात्रै उपलब्धि होइन, वास्तविक उपलब्धि भनेको विजेता बन्नु हो।”
नोबेल समितिले अघिल्ला वर्षहरूमा पनि दबाब नमानेको उदाहरण छ। सन् २०१० मा चिनियाँ असन्तुष्ट लिउ सियाओबोलाई पुरस्कार दिँदा नर्वे-चीन सम्बन्धमा गहिरो तनाव आएको थियो।
विशेषज्ञहरूले ट्रम्पको सम्भावना न्यून रहेको बताउँदै आएका छन्। नर्वे बहुपक्षवादमा दृढ रहेको बेला ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिले उल्टो सन्देश दिएको उनीहरूको तर्क छ। नर्वेजियन इन्स्टिच्युट अफ इन्टरनेसनल अफेयर्सका अनुसन्धान निर्देशक हलवार्ड लिराले भने, “यस्तो दबाब प्रायः प्रत्युत्पादक हुन्छ । समितिले ट्रम्पलाई पुरस्कार दियो भने स्वतन्त्रता गुमाएको आरोप लाग्नेछ।”
अगस्टमा तीन जना नोबेल इतिहासकारले समेत ट्रम्प योग्य नभएको ठहर गरेका थिए। उनीहरूले ट्रम्पको पुटिनप्रतिको प्रशंसा र युक्रेन युद्धबारेको अडानलाई मुख्य कारण बताउँदै लेखेका थिए, “नोबेल समितिले ट्रम्पलाई पुरस्कार दिन भने वास्तवमै आफ्नो विवेक गुमाउनु पर्ने हुन्छ।”
भदौ २७, २०८२ शुक्रबार १६:१८:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।