भत्किएका संरचनाको सीसाजन्य फोहर छुट्टै राख्न काठमाडौं महानगरको आग्रह

काठमाडौं : काठमाडौं महानगरपालिकाले जेन-जी आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाहरूबाट निस्किएको सीसाजन्य फोहरलाई अन्य फोहरसँग नमिसाउन आग्रह गर्दै एक जरुरी सूचना जारी गरेको छ।
महानगरले यस्तो हानिकारक फोहरको व्यवस्थापन छुट्टै गर्ने योजना बनाएकोले तत्कालका लागि सुरक्षित रूपमा संकलन गर्न अनुरोध गरेको हो।
महानगरको वातावरण व्यवस्थापन विभागले जारी गरेको सूचनामा आन्दोलनपछि उत्पन्न सीसाजन्य फोहर संकलनको माग बढेको तर यस्ता फोहरलाई सामान्य फोहरसँगै ल्यान्डफिल साइटमा लैजान नमिल्ने स्पष्ट पारेको छ।
सूचनामा भनिएको छ, ‘जेन-जी आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाबाट निस्केका सीसाजन्य हानिकारक फोहरहरूलाई सामान्य फोहरसँगै ल्यान्डफिल साइटमा पुऱ्याउन मिल्दैन। त्यसैले महानगरपालिकाले उक्त फोहोरको व्यवस्थापन गर्दैछ।’
विभागले फोहर संकलनमा संलग्न निजी क्षेत्र, व्यक्ति, संस्था तथा सरकारी कार्यालयहरूलाई यस्तो फोहरलाई अन्य फोहरसँग नमिसाउन निर्देशन दिएको छ।
साथै, सर्वसाधारणलाई पनि उक्त सीसाजन्य फोहरलाई छुट्टै संकलन गरी आ-आफ्नो घर वा कार्यालय परिसरभित्र सुरक्षित रूपमा राखिदिन आग्रह गरेको छ।
महानगरले छिट्टै यस्तो हानिकारक फोहर संकलन र व्यवस्थापनको प्रक्रिया सुरु गर्ने जनाएको छ।
भदौ २७, २०८२ शुक्रबार १५:५८:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।