जेन-जी आन्दोलनमा भएको हिंसात्मक घटनाका दोषी पहिचानका लागि प्रहरीले सर्वसाधारणसँग माग्यो भिडियो र तस्बिर

जेन-जी आन्दोलनमा भएको हिंसात्मक घटनाका दोषी पहिचानका लागि प्रहरीले सर्वसाधारणसँग माग्यो भिडियो र तस्बिर
तस्बिर- दीपेश श्रेष्ठ/उकेरा

काठमाडौं : नेपाल प्रहरीले जेन-जी आन्दोलनका क्रममा भएका आगजनी, लुटपाट र हिंसात्मक घटनाको अनुसन्धानका लागि सर्वसाधारणसँग सहयोग मागेको छ।

प्रहरीले एक सार्वजनिक सूचना जारी गर्दै भदौ २३ र २४ गते भएका घटनाका तस्बिर, भिडियो वा अन्य प्रमाण भए उपलब्ध गराइदिन आग्रह गरेको हो।

प्रहरीले जारी गरेको अनुरोधमा भदौ २३ र २४ गते काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शनका क्रममा घटेका अप्रिय घटना, आगजनी, लुटपाट र आम सर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका गतिविधिहरूसँग सम्बन्धित प्रमाण संकलनमा सहयोग गर्न भनिएको छ।

‘आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास श्रृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू तपाईंहरूसँग छ भने कृपया हामीलाई सहयोग गर्नुहुन अनुरोध गर्दछौँ’, सूचनामा उल्लेख छ।

प्रहरीले त्यस्ता कुनै पनि प्रमाणहरू इमेल ठेगाना [email protected] मा पठाइदिन आग्रह गरेको छ। साथै, सूचना तथा प्रमाण उपलब्ध गराउने व्यक्तिको पहिचान र विवरण पूर्ण रूपमा गोप्य राखिने प्रतिबद्धता पनि जनाएको छ।

प्रहरीले ‘तपाईंहरूको गोपनीयता कायम रहनेछ’ भन्दै दोषीहरूको पहिचान र कानुनी कारबाहीका लागि नागरिक स्तरबाट सहयोगको अपेक्षा गरेको हो।

भदौ २७, २०८२ शुक्रबार १५:४२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।