रविसहितका कैदीबन्दीलाई आत्मसमर्पण गर्न नख्खु कारागारको आग्रह, सम्पर्कमा नआए कडा कारबाही हुने चेतावनी

रविसहितका कैदीबन्दीलाई आत्मसमर्पण गर्न नख्खु कारागारको आग्रह, सम्पर्कमा नआए कडा कारबाही हुने चेतावनी

काठमाडौं : कारागार प्रशासन, नख्खुले भदौ २४ गते कारागारबाट निस्किएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सम्पूर्ण कैदीबन्दीहरूलाई तुरुन्त सम्पर्कमा आएर आत्मसमर्पण गर्न सार्वजनिक अपिल गरेको छ।

प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै आत्मसमर्पण नगर्नेलाई थप कडा कानुनी कारबाही हुने चेतावनी दिएको छ भने सम्पर्कमा आउनेलाई पुनःस्थापना प्रक्रियामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

अपिलमा भनिएको छ, ‘भदौ २४ गते नख्खु कारागार परिसरबाट फरार भएका सम्पूर्ण बन्दीहरू (थुनुवा र कैदी) लाई यस कारागार प्रशासनको आधिकारिक सम्पर्कमा अविलम्ब उपस्थित भई प्रचलित कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न हार्दिक अनुरोध गर्दछौँ।’

कारागार प्रशासनले फरार अवस्थामा रहिरहँदा कानुनले तोकेको सजाय थप कडाइका साथ कार्यान्वयन गरिने मात्र नभई भविष्यमा प्राप्त हुन सक्ने कानुनी अधिकार, सुविधा तथा सामाजिक पुनःस्थापना प्रक्रियामा समेत गम्भीर प्रतिकूल असर पर्ने भन्दै सम्पूर्ण फरार कैदीबन्दीहरूलाई सचेत र सजग रहन स्मरण गराएको छ।

‘विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सक्रिय सहयोग पुर्याउन सम्पूर्ण फरार कैदीबन्दीहरूलाई औपचारिक रूपमा अपिल गरिन्छ’, सूचनामा उल्लेख छ।

प्रशासनले सम्पर्कमा नआउने बन्दीलाई कारागार ऐन, २०१९ र अन्य प्रचलित कानुनबमोजिम कारबाही अघि बढाइने व्यहोरा पनि अवगत गराएको छ।

यद्यपि, कारागार प्रशासनले सम्पर्कमा आउने व्यक्तिहरूको हकहितको रक्षा गर्दै प्रचलित कानुनी प्रावधानअनुसार उनीहरूको पुनःस्थापना प्रक्रियामा आवश्यक सहयोग र सहजीकरण उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ।

भदौ २७, २०८२ शुक्रबार १४:१४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।