भ्रामक प्रचार र आपराधिक गतिविधिबारे सूचना दिन सशस्त्र प्रहरीको आग्रह, टोल फ्री नम्बर १११४ मा फोन गर्न सकिने

भ्रामक प्रचार र आपराधिक गतिविधिबारे सूचना दिन सशस्त्र प्रहरीको आग्रह, टोल फ्री नम्बर १११४ मा फोन गर्न सकिने

काठमाडौं : सशस्त्र प्रहरी बल, नेपालले देशमा हालको विषम परिस्थिति सामान्यीकरण हुँदै जाँदा केही समूहले भ्रामक प्रचार गर्ने र आपराधिक गतिविधि सञ्चालन गर्न सक्ने भन्दै आम नागरिकलाई सचेत रहन आग्रह गरेको छ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै सशस्त्र प्रहरीले त्यस्ता कुनै पनि गतिविधि देखेमा तत्काल सूचना दिएर सहयोग गर्न अनुरोध गरेको हो।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जारी गरेको अनुरोधमा भनिएको छ, ‘हालैको विषम परिस्थितिबाट सामान्यीकरण हुँदै आउने क्रममा केही व्यक्ति वा समूहहरूले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट तथ्यहीन भ्रामक प्रचार प्रसार गर्ने र परिस्थितिको अनुचित फाइदा उठाई सीमा अपराध लगायत लुटपाट, आगजनी जस्ता कार्यमा संलग्न भई आपराधिक गतिविधि सञ्चालन गर्न सक्छन्।’

यस्ता आपराधिक गतिविधिहरू कहीँकतै भएको देखिएमा वा पाइएमा सशस्त्र प्रहरी बल, नेपालको टोल फ्री नम्बर १११४ वा अन्य सुरक्षा निकायहरूमा तुरुन्त जानकारी गराई सहयोग गरिदिन हुन अनुरोध गरिएको छ।

विज्ञप्तिमा सशस्त्र प्रहरी बल जुनसुकै विषम परिस्थितिमा पनि देश र जनताको सेवामा प्रतिबद्ध रही पूर्ण संयमताका साथ परिचालित भइरहेको उल्लेख छ।

राज्यद्वारा सुम्पिएको मुख्य कार्यदेशअनुसार सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले सीमा अपराध, घुसपैठ तथा अतिक्रमण जस्ता कार्यहरू नियन्त्रण गर्न पूर्ण रूपमा कटिबद्ध रहेको पनि जनाएको छ।

भदौ २७, २०८२ शुक्रबार १४:०१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।