जेन-जी आन्दोलनको हिंसाप्रति सभामु्ख र राष्ट्रिय सभा अध्यक्षद्वारा दुःख व्यक्त, संवैधानिक प्रक्रियाबाटै निकास खोज्न आग्रह

जेन-जी आन्दोलनको हिंसाप्रति सभामु्ख र राष्ट्रिय सभा अध्यक्षद्वारा दुःख व्यक्त, संवैधानिक प्रक्रियाबाटै निकास खोज्न आग्रह

काठमाडौं : संघीय संसदले जेन-जी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संवैधानिक प्रक्रियाबाटै देशलाई निकास दिन आग्रह गरेको छ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार संयुक्त वक्तव्य जारी गर्दै आन्दोलनको क्रममा भएको हिंसा र आगजनीको भर्त्सना गरेका हुन्।

भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाउने युवाहरू तथा कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका राष्ट्रसेवक प्रहरीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै वक्तव्यमा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ।

साथै, आन्दोलनमा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारमा कुनै कमी हुन नदिन राज्यका सम्बन्धित निकायहरूलाई विशेष आग्रह गरिएको छ।

वक्तव्यमा भदौ २४ गते बानेश्वरस्थित संघीय संसद भवन, सिंहदरबारस्थित संसद सचिवालय लगायत विभिन्न सरकारी कार्यालय, निजी आवास, सञ्चार गृह तथा व्यापारिक प्रतिष्ठानमा भएको आगजनी र तोडफोडप्रति गहिरो दुःख व्यक्त गरिएको छ।

‘ऐतिहासिक दस्तावेजहरू नष्ट हुने गरी भएको आगजनी र तोडफोडले मर्माहत बनाएको छ। संघीय संसद भवन तथा सचिवालय र देशभरि भएको आगजनीले देशलाई अपूरणीय क्षति भएको छ’, वक्तव्यमा भनिएको छ।

देशको विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै राष्ट्रपतिले संवैधानिक प्रक्रियाबाट निकास दिन गरिरहेको पहलको समर्थन गरिएको छ।

‘विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौँ’, वक्तव्यमा उल्लेख छ।

उनीहरूले आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन सबैलाई अपिल गरेको छ।

भदौ २७, २०८२ शुक्रबार १३:४१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।