जेन-जी आन्दोलनमा मृत्यु भएका ३६ शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा, मृतकमा दुई महिला पनि

जेन-जी आन्दोलनमा मृत्यु भएका ३६ शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा, मृतकमा दुई महिला पनि

काठमाडौं : जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका ३६ जनाको शव पोस्टमार्टमका लागि काठमाडौंको महाराजगन्जस्थित चिकित्सा क्याम्पस (त्रिवि शिक्षण अस्पताल) मा ल्याइएको छ।

अस्पतालको फरेन्सिक विभागका अनुसार, बिहीबारसम्म आइपुगेका ३६ शवमध्ये दुई महिलाको रहेको र सबैको पोस्टमार्टम प्रक्रिया सुरू गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ २७ गते राति ९ बजेसम्म देशभरका ५८ अस्पतालबाट संकलित विवरणअनुसार आन्दोलनमा ३६ जनाको मृत्यु र १७६० जना घाइते भएको पुष्टि गरेको थियो।

मन्त्रालयको तथ्यांक अनुसार, कुल घाइतेमध्ये ३२२ जना अझै पनि विभिन्न अस्पतालमा उपचाररत छन् भने १३३० जना उपचारपछि घर फर्किएका छन्। गम्भीर अवस्थाका ७२ जनालाई थप उपचारका लागि अन्य स्वास्थ्य संस्थामा रेफर गरिएको छ।

काठमाडौं उपत्यकामा सबैभन्दा बढी असर
तथ्यांकअनुसार, आन्दोलनको सबैभन्दा बढी असर काठमाडौं उपत्यकामा परेको छ। उपत्यकाका मुख्य अस्पतालहरू घाइतेहरूले भरिएका छन्।

सिभिल सर्भिस अस्पतालमा सबैभन्दा धेरै ४५२ जना घाइतेको उपचार गरेकोमा ६ जनाको मृत्यु भएको छ भने राष्ट्रिय ट्रमा सेन्टरमा १७१ जना घाइतेमध्ये ८ जनाको मृत्यु भएको छ। पाँच जनाको आईसीयूमा उपचार भइरहेको छ।

नेपाल प्रहरी अस्पतालमा १७६ जना घाइतेको उपचार गरिएको छ भने कीर्तिपुर अस्पतालमा ३ जना जलेर घाइते भएका सहित ३० जनाको उपचार भएको छ।

उपत्यकाबाहिरको अवस्था
काठमाडौंबाहिर पनि आन्दोलनको प्रभाव व्यापक देखिएको छ। प्रदेशहरूका विभिन्न अस्पतालमा पनि मृतक तथा घाइतेको संख्या उल्लेख्य छ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा २८ जना घाइतेमध्ये ५ जनाको मृत्यु भएको छ भने झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ८४ जना घाइतेको उपचार गरेकोमा १ जनाको मृत्यु भएको छ।

नारायणी अस्पतालमा २७ जना घाइतेको उपचार गरिएको छ भने रामेछाप अस्पतालमा १४ जना घाइतेमध्ये २ जनाको मृत्यु भएको छ।

भदौ २७, २०८२ शुक्रबार १२:४८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।