जेन-जी आन्दोलन : स्थानीयले रोक्दारोक्दै जल्यो पञ्चेश्वर परियोजनाको कागजात, अख्तियारबाट कम्प्युटर चोरी

जेन-जी आन्दोलन : स्थानीयले रोक्दारोक्दै जल्यो पञ्चेश्वर परियोजनाको कागजात, अख्तियारबाट कम्प्युटर चोरी

काठमाडौं : केही कागज जलेर खरानी भएका छन्, केही जल्दाजल्दै निभाइएका छन्, तर धुवाँले कालो भएका असरल्ल छन्। सिसाका ढोकाहरू फुटेका छन्, झ्यालका सिसा चकनाचुर भएका छन्। जलेका कागजको गन्ध र खार अझै हटेको छैन।

यो दृश्य, सानोगौचरणस्थित विद्युत विकास विभागको भवनको हो। बन्न १० वर्षभन्दा बढी समय लागेको यो विभाग जेन-जी आन्दोलनमा २४ गते मंगलबार केही घण्टामै आगजनीको प्रयास भयो।

जेन-जी आन्दोलनमा २३ गते सोमबार १९ जनाको ज्यान गयो। त्यसले हजारौं आन्दोलनकारीलाई आक्रोशित बनाएको थियो। जसले मंगलबार विहानै सरकारले कर्फ्यू जारी गरे पनि कसैले टेरेनन् र सडकमा उत्रिएर आन्दोलन गर्न थाले।

यसका अलावा राजधानीको चक्रपथ बाहिरबाट आन्दोलनकारीले प्रहरी कार्यालय र सरकारी भवन जलाउन सुरू गरे। त्यसपछि दिउँसो साढे २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए। तर, प्रहरी र सरकारी कार्यालय जलाइरहेका आक्रोशित आन्दोलनकारीहरूले त्यतिमै रोकिएनन्। उनीहरूले अझ धेरै सरकारी भवनहरूमा आक्रमण गरे।

सशस्त्र प्रहरीको स्टाफ कलेज र पेट्रोल पम्प नजिकै रहेको विद्युत विकास विभाग र विद्युत नियमन आयोगको कार्यालयमा प्रदर्शनकारीले दिउँसो २ बजेदेखि नै ढुंगा हान्न थालेका थिए, त्यसपछि भित्र रहेका महत्त्वपूर्ण कागजातहरू जलाउन सुरू भयो।

शुक्रबार उकेराकर्मी विभाग पुग्दा भाँचिएका कुर्सी, फुटेका सिसा र जलेका कागजातहरूबीच कर्मचारीहरू अलमलमा देखिन्थे। विभागका एक कर्मचारीका अनुसार भुइँतलामा जलविद्युत् आयोजनाको लाइसेन्ससम्बन्धी र विभिन्न समयमा अनुसन्धान भएका आयोजनाका विवरणहरूमा क्षति पुगेको छ।

‘यहाँ स्थानीयहरू नआएको भए धेरै जल्थ्यो। कति जल्यो भन्न सकिँदैन, तर स्थानीयको सहयोगमा धेरै जोगायौँ भन्ने लाग्छ’, उनले भने।

कार्यालयका हरेक कोठाका सिसा फुटेका छन् भने क्यान्टिनबाट ४० हजार नगदसमेत चोरी भएको छ।

‘हाम्रो नाममा सम्पदा जलाइयो!’
जेन-जी उमेर समूहकै स्थानीय राज खड्गीका अनुसार ६/७ वटा समूहमा आएका मानिसहरूले कार्यालय जलाउन खोजेपछि उनीहरूले रोकेका थिए।

‘हाम्रो सम्पदा र हाम्रा कागजात जलाउने आन्दोलन कसरी जेन-जी आन्दोलन हुन्छ? हाम्रो नाममा अरूले नै खेले,’ २१ वर्षीय खड्गीले भने, ‘त्यो दिन आन्दोलनकारीले सिसा फुटाए, हामीले रोक्यौँ। कागजात ल्याएर जलाए, हामीले निभायौँ। गेट ढाले, हामीले उठायौँ। देश खरानी बनाएर हामी कसका लागि लड्ने?’

स्थानीय र कर्मचारीको प्रयासले धेरै संरचना जोगियो र नजिकैको पेट्रोल पम्पमा हुन सक्ने ठूलो दुर्घटना टर्यो। तर, उनीहरूले जोगाउँदा-जोगाउँदै पनि बहुउद्देश्यीय पञ्चेश्वर परियोजनासम्बन्धी कागजात भने पूर्ण रूपमा जलेर नष्ट भएको विभागका कर्मचारीले बताए।

अख्तियारमा लुटपाट, कम्प्युटर र पंखासमेत चोरी
प्रहरी प्रधान कार्यालयबाट केही मिटरको दूरीमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि आगजनीको प्रयास भयो। गेटमा बसेका प्रहरीलाई घचेटेर प्रदर्शनकारी भित्र पसे। भित्र रहेका कर्मचारीहरू पछाडिको ढोकाबाट भागे।

ठूलो संख्यामा आएको भीडले भुइँ तलामा रहेका कम्प्युटर, पंखा र काँसका जगसमेत चोरेर लगेको छ। हरेक कोठाका दराज फोडिएको छ भने सिसिटिभीमा पनि क्षति पुर्याइएको छ।

‘कति क्षति भयो, विवरण संकलन गर्दैछौँ,’ अख्तियारका एक कर्मचारीले भने, ‘कम्प्युटर र पंखासमेत चोरिँदा यी आन्दोलनकारी हुन् कि चोर, म अचम्ममा परेको छु।’

भदौ २७, २०८२ शुक्रबार १२:२८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।