जेन-जी आन्दोलनमा अख्तियार तोडफोड, विद्युत विभागमा आगजनी (तस्बिरहरू)

जेन-जी आन्दोलनमा अख्तियार तोडफोड, विद्युत विभागमा आगजनी (तस्बिरहरू)
आगलागी भएको विद्युत् विकास विभागका कागजात।

काठमाडौं : जेन-जी आन्दोलनको उग्र रूपले देशको प्रमुख प्रशासनिक केन्द्रहरूलाई मात्र नभई भ्रष्टाचार नियन्त्रणको संवैधानिक निकाय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विद्युत विकास विभागलाई पनि निशाना बनाइयो।

प्रदर्शनकारीहरूको भीडले आयोगको केन्द्रीय कार्यालयमा तोडफोड गरे भने विद्युत विकास विभागमा आगजनी गरे। जसले विभागमा रहेका नेपालमा ऊर्जा उत्पादन, प्रसारण, वितरण, तथा नीतिगत योजनाका कागजनतहरू जलेर नष्ट भए।

उकेराकर्मी शुक्रबार आयोग पुग्दा कार्यालयको पहिलो तलामा सबैभन्दा बढी क्षति पुर्याएको देखिन्छ। त्यहाँ रहेका अधिकांश कम्प्युटरहरू चोरी भएका छन् भने बाँकी सामान तोडफोड गरिएको छ।

कार्यालयका फर्निचर, दराज र अन्य सामानहरू बाहिर लबीमा निकालेर फुटाइएको छ।

आयोगका आयुक्तहरूको कार्यकक्ष पूर्ण रूपमा तोडफोड गरिएको छ भने झ्यालका सिसाहरू एउटा पनि बाँकी छैनन्। कार्यालय परिसरमा रहेका गमलाहरूसमेत फुटाइएको छ।

यसका अलावा विभागको एउटा दस्तावेज रहेको कोठामा आगो लगाइएको छ। जसले त्यहाँ भएका महत्त्वपूर्ण दस्ताबेज जलेर नष्ट भएका छन्। 

घटनाको क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको आयोगले जनाएको छ। तर, घटनाको संवेदनशीलताका कारण कुनै पनि अधिकारीले यस विषयमा औपचारिक रूपमा बोल्न मानेका छैनन्।

भदौ २७, २०८२ शुक्रबार ११:३४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।