तीन दिनपछि रुपन्देहीमा कर्फ्यू हट्यो, निस्कियो शान्ति सद्भाव र्‍याली

तीन दिनपछि रुपन्देहीमा कर्फ्यू हट्यो, निस्कियो शान्ति सद्भाव र्‍याली

बुटवल : रुपन्देहीमा तीन दिनदेखि जारी कर्फ्यू र निषेधाज्ञा शुक्रबार बिहानदेखि हटाइएको छ।

कर्फ्यू हटेसँगै जिल्लाको जनजीवन क्रमशः सामान्य बन्न थालेको छ भने बजार, यातायात र बन्द रहेको भन्सार कार्यालय पनि आंशिक रूपमा सञ्चालनमा आएका छन्।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले पछिल्लो घटनाक्रमपछि असहज बनेको परिस्थिति सामान्य बन्दै गएकाले कर्फ्यू र निषेधाज्ञा हटाइएको जानकारी दिए।

उनले आवश्यकता परेमा पुनः सुरक्षा व्यवस्था कडा पारिने बताउँदै अर्को सूचना जारी नभएसम्मका लागि हाललाई आवागमन सहज बनाइएको बताए।

कर्फ्यू हटेसँगै बुटवल, भैरहवा लगायतका मुख्य बजारहरू खुलेका छन् भने छोटो दूरीका सवारी साधन चल्न थालेका छन्। यद्यपि, लामो दूरीका सवारी साधन भने न्यून संख्यामा मात्र सञ्चालनमा आएका छन्।

तीन दिनदेखि रोकिएका यात्रुहरू गन्तव्यमा जान सडकमा सवारी कुरिरहेका देखिन्छन्।

जेन-जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको भैरहवास्थित बेलहिया नाकाको भन्सार कार्यालय पनि शुक्रबारदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ।

भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेका अनुसार हाल एलपी ग्यास, तरकारी, फलफूल लगायतका अत्यावश्यक वस्तुहरू भित्रिन थालेका छन्।

यसैबीच, जिल्लामा शान्ति र सद्भाव कायम गर्न भैरहवामा विभिन्न संघसंस्थाहरूले संयुक्त रूपमा शान्ति र्याली निकालेका छन्।

सिद्धार्थ उद्योग वाणिज्य संघ, लुम्बिनी प्रेस क्लब, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी, चेम्बर अफ कमर्स, सिद्धार्थ होटल संघ लगायत दर्जनौँ संस्थाको सहभागितामा बेलहियादेखि भैरहवासम्म र्याली निकालिएको हो।

भदौ २७, २०८२ शुक्रबार ११:०६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।