आमालाई प्रेसरको औषधि दिएर आन्दोलनमा निस्किएका सञ्जय, खुट्टामा चार गोली बोकेर अस्पतालको शय्या पुगे

आमालाई प्रेसरको औषधि दिएर आन्दोलनमा निस्किएका सञ्जय, खुट्टामा चार गोली बोकेर अस्पतालको शय्या पुगे

काठमाडौं : सरकारले २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछिको असन्तुष्टि र टिकटकमा ‘नेपो बेबी’ विरुद्ध उठेको अभियानको रापले ३२ वर्षीय सञ्जय पौडेललाई पनि छोयो। उनको सपनाको गन्तव्य जापान थियो, तर सोमबार बानेश्वरको आन्दोलनले उनलाई अर्कै मोडमा पुर्याइदियो।

सधैँ झैँ कन्सल्टेन्सीमा जापानी भाषा पढ्न जाने तयारीमा रहेका उनी, त्यो दिन घरबाट अलि छिट्टै निस्किए- देशको लागि उठेको आवाजमा आफ्नो आवाज पनि मिसाउन भन्दै। प्रेसरकी रोगी आमालाई चिन्ता होला भनेर उनले आफू आन्दोलनमा जान लागेको खबर दिएनन्।

उनको मनमा एउटा योजना थियो- बिहान जेन-जीको शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने र दिउँसो ३ बजेको आफ्नो पढाइ पनि भ्याउने। यही सोच बोकेर उनी बिहान ११ बजे बिजुलीबजारको पुलमा पुगे।

त्यहाँ चारैतिर आफूभन्दा साना भाइबहिनीहरू नाचगान गरेर रमाइलो गर्दै विभिन्न नाराहरू लगाइरहेका थिए। स्कुल ड्रेस लगाएका विद्यार्थीहरूले गरेको त्यो रचनात्मक आन्दोलन उनले यसअघि कहिल्यै देखेका थिएनन्।

रमाइलो मान्दै आफू पनि त्यही भीडमा सामेल हुँदै उनी संसद् भवनतिर अघि बढे। उनी अगाडि बढ्दै गर्दा एभरेस्ट होटलअगाडि रहने प्रहरीको सुरक्षाको घेरा तोड्ने प्रयास हुँदै थियो।

हेर्दाहेर्दै त्यो तोडियो र भीड अगाडि बढ्यो। त्यसबेलासम्म पनि उनले कुनै अप्रिय घटनाको चाल पाएनन्। संसद् भवनअगाडि पनि लामो समय बिनाझडप शान्तिपूर्ण आन्दोलन नै भइरहेको उनले अनुभव गरे।

तर, केही बेरमै माहोल बदलियो। संसद् भवनको मुख्य गेट, भित्ता र सुरक्षाकर्मी बस्ने ठाउँमा सबैजना चढ्न थाले, अनि क्षणभरमै ढुंगामुढा सुरु भयो। केही भीडले मोटरबाइक पड्काउँदै आएको कारणले बाइकको आवाज र भाइबहिनीको नाराबाहेक उनले केही सुनेनन्। त्यो कोलाहल र होहल्लाबीच कहिले आफ्नो शरीरमा गोली छिर्यो, उनले पत्तै पाएनन्।

‘चारवटा गोली लागिसकेको थाहै भएन’, उनले उकेरासँग भने।

ढुंगासँगै अश्रुग्यासको गन्ध र आँखा पोल्न थालेपछि आफ्नो बचाउका लागि उनी भागे। संसद् भवनको मुख्य गेट पर गर्दा उनको खुट्टा एकाएक तातो भइसकेको थियो। जब उनले आँखा खुट्टातिर झुकाए, उनले आफ्नो पाइन्ट च्यातिएको र रगतले लतपतिएको देखे।

‘प्रहरीले लाठीचार्ज गर्न लागेको देखेर भागेर सुरक्षित ठाउँमा पुग्न लागेको थिएँ। खुट्टा त पोलेको जस्तो भयो। पछि हेर्दा त रगत भल्भल्ती बगेको जस्तो देखेँ,’ फ्रन्टलाइन अस्पतालको शय्याबाट उनले त्यो भयानक क्षण सम्झिए, ‘पछि पो थाहा भयो, दुवै खुट्टामा दुई-दुईवटा गोली लागिसकेको रहेछ।’

आन्दोलनका अपरिचित साथीहरूले नै उनलाई काँध दिए। भुइँमा एकछिन बसेपछि उनलाई तुरुन्तै नजिकैको सिभिल अस्पताल लगियो।

‘पहिला त एउटा खुट्टामा लागेर अर्कोमा लागेको होला भन्ने लागेको थियो। तर होइन रहेछ, एकैपटक चारवटा गोली लागेको रहेछ। त्यसपछि एकछिन आत्तिएँ’, उनले सुनाए।

डाक्टरले उनलाई ‘शटगन’ लागेको बताएका छन्। त्यो भनेको के हो भनेर उनले डाक्टरलाई सोध्न सकेनन्। रबर र मेटल बाहेक अर्कै गोली आफ्नो खुट्टामा पसेको भन्ने उनलाई लागेको रहेछ।

सिभिल अस्पतालमा रगत बगाउँदै पुगेका उनलाई काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरूले भेटे र त्यहाँबाट फ्रन्टलाइन अस्पताल लगे। सिभिलबाट किन फ्रन्टलाइन लगियो उनलाई थाहा भएन।

‘सायद सिभिलमा ठाउँ नभएर हो कि!’, उनी आफैँ अनुमान गर्छन्।

उनी फ्रन्टलाइन पुग्दा त्यहाँ निकै शान्त थियो, तर केही बेरमै घाइतेहरूको भीडले शय्या नपुगेर भुइँमा समेत राखेर उपचार गर्नुपरेको उनले देखे।

‘हेर्दाहेर्दै त्यहाँ पनि दर्दनाक अवस्था नै थियो नि! पछि सब भुइँमा नै लडिरहेको थियो। कोही भने छर्रा बोकेर यताबाट उता हिँडिरहेको थियो’, उनले एकै श्वासमा भने।

आमालाई नभनी आएकाले उनले घरमा कसैलाई खबर गर्न सकेका थिएनन्। तर, उनी अस्पताल पुगिसकेको खबर आमाले थाहा पाइसक्नुभएको रहेछ।

कारण थियो- सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियो। उनी सिभिल अस्पतालमा हुँदा आफूलाई अभियन्ता बताउने आशिका तामाङले घाइतेहरूलाई भेट्न आउँदा उनको चस्माले खिचेको भिडियो भाइरल भइसकेको रहेछ।

‘मलाई थाहा पनि थिएन। आशिका तामाङ भन्ने थाहा भयो, तर क्यामेरा त देखेको थिइनँ। पछि पो उसको चस्माले सबै खिच्छ भनेर थाहा भयो। ममीले कति छिटो थाहा पाएर फोन गरिहाल्नुभयो,’ उनले भने, ‘त्यसबेला सामान्य चोट लागेको भनेँ, तर अहिले त सबै थाहा भइसक्यो।’

‘बिल महानगरले तिरिरहेको सुनेको छु’
उनको बिल ७० हजार उठेको रहेछ, तर महानगरले खर्च बेहोर्ने उनले सुनेका रहेछन्। उनीसँगै घाइते भएर अस्पताल आएका केही साथीहरू डिस्चार्ज भइसके। कसैले पनि बिल तिर्न नपरेको कारण उनले यसलाई समस्या मानेका छैनन्।

गोली त्यही दिन निकालिएकाले उनको अवस्था अहिले सामान्य छ र शुक्रबार डिस्चार्ज हुने आशामा छन्।

‘आजै जान्छु भनेको, प्रोसेस नमिलेर त्यत्तिकै बसिरहेको छु। यहाँ अरू साथीहरूलाई पनि बेड आवश्यक छ,’ बिहीबार उकेरासँग उनले भने, ‘भोलि डिस्चार्ज भयो भने भोलि नै घर जान्छु।’

संजय केही महिनादेखि जापानिज भाषा पढिरहेका छन्। अवस्था सामान्य भए पछि जापान जाने उनको सपना छ।

फ्रन्टलाइन हस्पिटलमा मात्र जेनजी आन्दोलनमा गोली लागेका चार जनाको मृत्यु भइसकेको छ भने २४ जना घाइते छन्।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार देशभरका विभिन्न ५८ वटा हस्पिटलमा १७ सय ६० जना घाइते उपचारका लागि आएका थिए, जसमध्ये १३ सय ३० जना डिस्चार्ज भइसकेका छन्। ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ।

भदौ २७, २०८२ शुक्रबार १०:५५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।