देशभर वर्षाको सम्भावना, कोशी, गण्डकी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आज देशभर मौसम सामान्यतया बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ।
मनसुनको न्यून चापीय रेखा आफ्नो सामान्य स्थानको आसपासमा रहेकाले देशभर वर्षाको सम्भावना बढेको हो। विभागका अनुसार आज दिउँसो र राति देशका केही प्रदेशमा भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।
कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। बाँकी भूभागका थोरै स्थानमा पनि हल्का वर्षा हुन सक्नेछ।
त्यसैगरी कोशी र मधेश प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।
भदौ २७, २०८२ शुक्रबार ०९:३८:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।