जेन-जी आन्दोलनमा मृतकको संख्या ३६ पुग्यो, १७ सय ६० जना घाइते

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेन-जी आन्दोलनका क्रममा देशभर ३६ जनाको मृत्यु भएको र १७६० जना घाइते भएको आधिकारिक तथ्यांक सार्वजनिक गरेको छ।
मन्त्रालयले बिहीबार, भदौ २७ गते राति ९ बजेसम्म देशभरका ५८ वटा अस्पतालबाट सङ्कलन गरेको विवरण अनुसार उक्त क्षति पुष्टि भएको हो।
मन्त्रालयको तथ्यांकअनुसार, कुल घाइतेमध्ये ३२२ जना अझै पनि विभिन्न अस्पतालमा उपचाररत छन् भने १३ सय ३० जना उपचारपछि घर फर्किसकेका छन्। गम्भीर अवस्थाका ७२ जनालाई थप उपचारका लागि अन्य स्वास्थ्य संस्थामा रेफर गरिएको छ।
काठमाडौं उपत्यकामा सबैभन्दा बढी असर
तथ्यांकअनुसार, आन्दोलनको सबैभन्दा बढी असर काठमाडौं उपत्यकामा परेको छ। उपत्यकाका मुख्य अस्पतालहरू घाइतेहरूले भरिएका छन्।
सिभिल सर्भिस अस्पतालमा सबैभन्दा धेरै ४५२ जना घाइतेको उपचार गरेकोमा ६ जनाको मृत्यु भएको छ भने राष्ट्रिय ट्रमा सेन्टरमा १७१ जना घाइतेमध्ये ८ जनाको मृत्यु भएको छ। पाँच जनाको आईसीयूमा उपचार भइरहेको छ।
नेपाल प्रहरी अस्पतालमा १७६ जना घाइतेको उपचार गरिएको छ भने कीर्तिपुर अस्पतालमा ३ जना जलेर घाइते भएका सहित ३० जनाको उपचार भएको छ।
उपत्यकाबाहिरको अवस्था
काठमाडौंबाहिर पनि आन्दोलनको प्रभाव व्यापक देखिएको छ। प्रदेशहरूका विभिन्न अस्पतालमा पनि मृतक तथा घाइतेको संख्या उल्लेख्य छ।
बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा २८ जना घाइतेमध्ये ५ जनाको मृत्यु भएको छ भने झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा ८४ जना घाइतेको उपचार गरेकोमा १ जनाको मृत्यु भएको छ।
नारायणी अस्पतालमा २७ जना घाइतेको उपचार गरिएको छ भने रामेछाप अस्पतालमा १४ जना घाइतेमध्ये २ जनाको मृत्यु भएको छ।
भदौ २७, २०८२ शुक्रबार ०९:०९:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।