स्थानीयको श्रमदानले खुल्यो दुई महिनादेखि बन्द म्याग्दीको ग्रामीण सडक

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८, राम्चेका स्थानीयले श्रमदानमार्फत दुई महिनादेखि अवरुद्ध ग्रामीण सडक पुनः सञ्चालनमा ल्याएका छन्।
गत असारमा पहिरोले भत्काएको नागी-राम्चे सडक सरकारी निकायको प्रतीक्षा नगरी स्थानीय आफैँले मर्मत गरेका हुन्।
नागी-राम्चे सडकको थावनगाउँ नजिकैको छहरेखण्डमा पहिरोले करिब सात मिटर सडक बगाएको थियो।
सडक बन्द हुँदा स्थानीयको आवतजावत, आलुजस्ता कृषि उपज बजार पुर्याउन र बिरामीलाई अस्पताल लैजानसमेत कठिनाइ भएको थियो।
‘सरकारी निकायको आश गर्दा ढिलाइ हुने भएपछि गाउँलेले नै सडक मर्मत गर्ने निर्णय गरेका हुन्,’ स्थानीय फसबहादुर गर्बुजाले भने, ‘बिहीबार राम्चेका हरेक घरबाट एक जनाका दरले करिब ७५ जनाले दिनभर श्रमदान गरेर सडक खुलायौँ।’
स्थानीयले पहिरो गएको ठाउँमा जगैदेखि ढुङ्गाको पर्खाल उठाएर सडकको नयाँ ट्रयाक तयार पारेका छन्। सडक मर्मत भएसँगै अब जिप, ट्याक्टर र मोटरसाइकल चल्न सक्ने भएका छन्।
यो सडक राम्चेका बासिन्दाका लागि सदरमुकाम बेनी आउजाउ गर्ने मुख्य मार्ग हो। आलु उत्पादनको पकेट क्षेत्र मानिने राम्चेबाट कृषि उपज ढुवानी गर्न पनि यही सडक प्रयोग हुन्छ।
सडक खुलेपछि नागीका बासिन्दालाई राम्चेस्थित वडा कार्यालय र स्वास्थ्य चौकी पुग्न सहज भएको छ भने राम्चेका विद्यार्थीलाई नागीमा रहेको हिमाञ्चल मावि जान पनि सजिलो भएको छ।
भदौ २७, २०८२ शुक्रबार ०७:५०:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।