भारतबाट फर्केका नेपाली कामदार राजमार्गमा लुटिए, खुकुरी देखाएर नगद र मोबाइल खोसियो

कञ्चनपुर : भारतबाट घर फर्किँदै गरेका नेपाली कामदारहरू कञ्चनपुरको पूर्व-पश्चिम राजमार्गमा लुटिएका छन्।
बिहीबार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रमा स्कुटरमा आएका तीन जनाको समूहले खुकुरी देखाएर दुई जनाको नगद र मोबाइल लुटेका हुन्।
पीडितहरू भारतको उत्तराखण्डस्थित टेहरीगढवालबाट मजदुरी गरी घर फर्कँदै थिए।
लुटिनेमा कालिकोटको पलाता गाउँपालिका-७ का कलमबहादुर धामी र नैनबहादुर धामी रहेका छन्। उनीहरूसँगै रहेका अन्य तीन जना भने लुटिनबाट जोगिएका छन्।
महेन्द्रनगरबाट गाडी नपाएपछि पैदलै हिँडिरहेको अवस्थामा आफूहरू लुटिएको पीडित कलमबहादुरले बताए।
‘सेतो रङको स्कुटरमा आएका तीन जनाले एक्कासि खुकुरी देखाए र मेरो मोबाइल खोसे,’ उनले भने, ‘त्यसपछि मसँग भएको १४ हजार भारतीय रुपैयाँ पनि लगे । राजमार्गमा अर्को मोटरसाइकल आएको देखेपछि उनीहरू भागे।’
दुई महिनाअघि मात्रै मजदुरीका लागि भारत गएका उनीहरूले सोचेजस्तो काम नपाएपछि घर फर्केको बताए।
‘भारतमा पनि वर्षा र बाढीले राम्रोसँग काम गर्न पाइएन, बाटोमा आउँदा भएको पैसा पनि लुटियो,’ कलमबहादुरले दुःखेसो पोखे, ‘अब कसरी घर जाने भन्ने बिजोग भएको छ।’
पीडितहरूले घटनाबारे इलाका प्रहरी कार्यालय, झलारीमा जानकारी गराएका छन्। प्रहरी निरीक्षक राजेश बस्नेतले पीडितले दिएको हुलियाका आधारमा लुटेराहरूको खोजी कार्य तीव्र पारिएको बताए।
भदौ २७, २०८२ शुक्रबार ०७:१७:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।