तनहुँका दुई खोलामा महिलाको शव फेला, पहिचान हुन बाँकी

तनहुँका दुई खोलामा महिलाको शव फेला, पहिचान हुन बाँकी

दमौली : तनहुँका दुई छुट्टा-छुट्टै स्थानमा बिहीबार दुई महिला मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सेती नदी र बुल्दीखोलामा फेला परेका दुवै महिलाको पहिचान खुल्न सकेको छैन।

प्रहरी नायब उपरीक्षक (डीएसपी) अशोक थापाका अनुसार व्यास नगरपालिका-३ देउरालीनगरस्थित सेती नदी किनारमा अन्दाजी ५५-६० वर्षीया एक वृद्धाको शव भेटिएको हो।

स्थानीयले खबर गरेपछि घटनास्थल पुगेको प्रहरी टोलीले मुचुल्का उठाएर शवलाई पोस्टमार्टमका लागि दमौली अस्पताल पठाएको छ।

यसैगरी, व्यास नगरपालिका–१ तालघरेस्थित बुल्दीखोलामा अन्दाजी ३०-३५ वर्षीया अर्की एक महिलाको शव फेला परेको छ।

डिहीगाउँ जाने पुलमुनि पानीमा डुबेको अवस्थामा फेला परेकी उनलाई उद्धार गरी तत्काल दमौली अस्पताल लगिएको थियो। तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेको डीएसपी थापाले बताए।

दुवै शव हाल दमौली अस्पतालमा राखिएको छ। प्रहरीले मृतकका आफन्तको खोजी गर्नुका साथै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

भदौ २७, २०८२ शुक्रबार ०७:११:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।