अन्तरिम सरकारको प्रधानमन्त्री छान्न सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतसँग छलफलमा राष्ट्रपति

अन्तरिम सरकारको प्रधानमन्त्री छान्न सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतसँग छलफलमा राष्ट्रपति

काठमाडौं : भावी सरकार कस्तो बनाउने भन्ने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलसहित पूर्व राष्ट्रपति विद्या भण्डारी, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र प्रधान सेनापति अशोक सिग्देल छलफलमा छन्।

उच्च विश्वस्त स्रोतका अनुसार जेनजी भनिने एक समूहले विहिबार १२ बजेभित्र सुशीला कार्कीलाई प्रधानमन्त्री घोषणा नगरे राष्ट्रपति कार्यालय घेर्ने चेतावनी दिएपछि कार्कीसहितको उपस्थितिमा छलफल भइरहेको हो।

अन्तरिम सरकार गठन गर्नु वर्तमान संविधान विपरीत भएको र संविधानले पूर्व प्रधानन्यायाधीशलाई अन्य राजनीतिक पदमा नियुक्त गर्न रोकेकाले यो बाधा कसरी फुकाउने भन्दै पौडेल संविधान भित्रैबाट विकल्प खोज्नुपर्ने पक्षमा उभिएका छन्।

राष्ट्रपति पौडेल अब निर्माण हुने सरकार चुनावका लागि अन्तरिम हुनेमा सहमत भए पनि संविधान भन्दा बाहिर जान नहुने पक्षमा उभिएका छन्। तर जेनजीको एक समूहले कार्कीलाई प्रधानमन्त्री घोषणा गर्न निरन्तर दबाब दिइरहेका छन्।

सभामुख देवराज घिमिरेका सन्चारविज्ञ शेखर अधिकारीले राष्ट्रपतीसँग भेट गरेको पुष्टी गरे।

बिहीबारबाट नेपाली कांग्रेस, एमाले लगायतका दलका युवा नेता संविधानको रक्षाका लागि भन्दै सडक प्रदर्शनमा उत्रिएको र जेनजी भनिने एक समूह समेत विरोध प्रदर्शनमा उत्रिने तयारीमा छन्।

भदौ २७, २०८२ शुक्रबार ००:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।