मस्कोमा सुरू भयो एआईबाट चल्ने विद्युतीय नगर रेल

मस्कोमा सुरू भयो एआईबाट चल्ने विद्युतीय नगर रेल

एजेन्सी : रूसले पहिलो पटक एआईबाट चल्ने विद्युतीय नगर रेलको सेवा सुरु गरेको छ। बिहीबार मस्कोमा भएको औपचारिक शुभारम्भसँगै रूसको सार्वजनिक यातायात प्रणालीमा नयाँ युग सुरु भएको बताइएको छ।

रूसी सरकारको अनुसार यो परियोजना सन् २०३० सम्मको यातायात विकास रणनीतिसँग जोडिएको छ। सो अवधिसम्म ३०० भन्दा बढी नगर रेल (ट्राम) स्वायत्त प्रविधिले सुसज्जित हुने योजना छ भने सन् २०३५ सम्म कुल यातायातको ९० प्रतिशत हिस्सा एआई रेलले ओगट्ने लक्ष्य लिइएको छ।

नयाँ रेलले आफैं स्टपमा रोकिने, ढोका खोल्ने, ट्राफिक सिग्नल पालन गर्ने, पैदल यात्रीलाई बाटो दिने र तालिकाअनुसार रेलमार्ग तय गर्ने क्षमता राख्छ। गत मेदेखि रेलले ८ हजार किलोमिटरभन्दा बढी परीक्षण बिना कुनै नियम उल्लङ्घन सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

हालको नियमअनुसार, यात्राको क्रममा रेलभित्र एक जना अपरेटर रहनेछन्, जसले निरीक्षण र टिकट नियन्त्रण जस्ता गैर–ड्राइभिङ काम गर्नेछन्। तर रेलको वास्तविक ड्राइभिङ कार्य भने पूर्ण रूपमा एआई र मस्कोमै विकसित सफ्टवेयरले गर्नेछ।

यसअघि रेलले तीन चरणमा परीक्षण पूरा गरिसकेको छ- यात्रु बिना रात्रीकालीन यात्रा, यात्रुसहित पर्यवेक्षण यात्रा, र अन्ततः पूर्ण स्वायत्त यात्रा।

सन् २०२५ को अन्त्यसम्म मस्कोले तीन स्वायत्त रेललाई नियमित सेवामा उतार्नेछ भने सन् २०२६ मा यसको संख्या १५ पुग्नेछ। यस्तै, सन् २०२५ डिसेम्बरमा पहिलो स्वायत्त मेट्रो रेलको परीक्षण सुरु हुने र सन् २०२६ सम्म यात्रु सेवामा ल्याइने योजना छ।

सहरले यो परियोजना मार्फत यात्रु अनुभव सुधार्ने, उत्सर्जन घटाउने र दीर्घकालीन यातायात दक्षता बढाउने लक्ष्य राखेको छ। मस्कोले यसलाई स्मार्ट सार्वजनिक यातायात समाधानतर्फको आफ्नो महत्वपूर्ण कदमको रूपमा लिएको छ।

भदौ २६, २०८२ बिहीबार २२:०५:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।