सेप्टेम्बर ८ पछि भिसा सकिएका पर्यटकलाई भिसा निःशुल्क

काठमाडौं : हालको असामान्य परिस्थितिलाई ध्यानमा राख्दै अध्यागमन विभागले सेप्टेम्बर ८ पछि भिसा सकिएका विदेशी पर्यटकलाई अतिरिक्त शुल्क नलिई भिसा नवीकरण गर्ने व्यवस्था मिलाएको छ।
विभागका निर्देशक टीकाराम ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालमा पछिल्ला घटनाक्रमका कारण समयमै भिसा थप्न नसकेका पर्यटकलाई अध्यागमन कार्यालयबाटै निःशुल्क भिसा नियमित गरिनेछ।”
यस अनुसार, सेप्टेम्बर ८ सम्मको भिसा मान्य भएकाले कर्फ्यूको अवधिमा नेपाल छाड्न नपाएका पर्यटकलाई प्रस्थान बिन्दुमा नै भिसा नियमितीकरण र बाहिर निस्कने अनुमति दिइनेछ।
यस्तै, राहदानी हराएका र दूतावासमार्फत आपतकालीन ट्राभल डकुमेन्ट पाएका विदेशीका लागि पनि भिसा स्थानान्तरणको व्यवस्था गरिएको छ।
नेपाल पर्यटन बोर्डले अध्यागमन विभागको सूचना अद्यावधिक गर्दै पर्यटकलाई आवागमन सहज बनाउन सटल बसदेखि होटल आवतजावतसम्मका सुविधा गरिएको जनाएको छ। पर्यटकलाई कुनै समस्या परे २४ घण्टा सम्पर्क गर्न सकिने कर्मचारी तैनाथ गरिएका छन्।
जेनजी आन्दोलनका कारण भदौ २४ गते दिउँसोदेखि बन्द भएको त्रिभुवन विमानस्थल भदौ २५ गते दिउँसो २ः३० बजे पुनः खुलेको हो। अहिले अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान नियमित भएका छन्।
भदौ २६, २०८२ बिहीबार २१:४०:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।