हतियार र पोशाक प्रदर्शनकारीको हातमा, खण्डहरमा प्रहरी
काठमाडौं : जेनजी पुस्ताको आन्दोलनबाट काठमाडौंमा रहेको प्रहरी प्रधान कार्यालय बाहेक अन्य प्रहरी कार्यालयहरु आक्रमणबाट जोगिन सकेन। उपत्यका प्रहरी कार्यालयदेखि अधिकांश प्रहरी प्रभागहरू ध्वस्त भए। आगलागी र लुटपाटका कारण काठमाडौंका अधिकांश प्रहरी कार्यालयहरु अहिले खण्डहर समान बनेका छन्। 
सोमबार १९ जनाको मृत्यु भएको घटनापछि मंगलबार आक्रोशित प्रदर्शनकारीले रानीपोखरी, दरबारमार्ग, महाराजगञ्जदेखि उपत्यका ट्राफिक प्रहरी कार्यालयसम्म जलाइदिए। उनीहरुले हतियार लुटे, लत्ता कपडा, सञ्चार साधन सधै लुटेर लगे।
लुटेर लगिएका हतियारदेखि कपडासम्मलाई प्रदर्शनकारीहरुले मजाक बनाएर विरोध प्रदर्शनमा दुरुपयोग गरिरहेका थिए। कोही नागरिकलाई प्रहरीको बन्दुक ताक्दै हिँडिरहेका थिए त कोही ट्राफिक बनेर सडकमा प्रहरीको पोशाकलाई 'गाइजात्रा' बनाइरहेका थिए।
प्रदर्शनकारीको आक्रमणबाट जोगिन तीनकुने बृतमा रहेका प्रहरीहरु खोलामा हाफ फाल्दा समेत कुटाइ खानबाट जोगिन सकेनन्। महाराजगञ्ज बृत्तका तीन प्रहरी मारिए। भवनमा प्रदर्शनकारीले लगाएको आगोका कारण ज्यान जोखिममा परेका प्रहरीलाई सेनाले हेलिकप्टरबाट उद्दार गरेको थियो।

प्रहरी कार्यालय र प्रहरीमाथि प्रदर्शनकारी अति निर्ममहुँदा उनीहरुले सञ्चारसेटबाट आफ्नै संगठनसँग उद्दारको सहयोग मार्दा समेत पाउन सकेनन्। सञ्चार सेटबाट सम्भव भएसम्म कार्यालयको सुरक्षा गर्ने, त्यो सम्भव नभएको अवस्थामा हतियार र आफ्नो सुरक्षा गर्न निर्देशन आइरहेको थियो।
तर अधिकांश प्रहरीले आफूसँग भएको बाहेक कार्यालयमा राखिएको न हतियारको सुरक्षा गर्न सके न त गोलीको नै। सुरक्षाका लागि जव सेना खटियो उनीहरुले लुटेरा समूहबाट प्रहरीका हतियार र गोलीहरु बरामद गरेको थियो। सेनाले लुटेका हतियारहरु बुझाउन सूचना जारी गरेको छ। तर लुटिएको संख्यामा हतियार फिर्ता हुन सकेको छैन।
बिहीबार उकेराकर्मी उपत्यकाका प्रहरी कार्यालयहरु पुग्दा बिहानैदेखि प्रहरी र स्थानीय मिलेर प्रहरी कार्यालयका जलेर बाँकी रहेको फर्निचर, खरानी, भत्किएका ईँटा, तारसमेत संकलन गरेर कार्यालयलाई सामान्य बनाउन खोजिरहेका थिए। तर त्यो सहज देखिएन। कागजपत्रदेखि अपराधको फाइलसम्म सबै डढिसकेका देखिन्थे।
दरबारमार्गमा खटिएका एक जवानले सुत्ने ठाउँ जसोतसो मिलाए पनि खानादेखि लगाउने कपडासमेत नभएको बताए। विद्युतीय उपकरणदेखि अपराधको रेकर्ड समेत सबै डढाइएको उनले सुनाए।

त्यहाँ पुग्दा केही प्रहरी युनिफर्म धोइरहेका देखिन्छन्। खानपिनका लागि स्थानीयले सहयोग गरिरहेका थिए। कतिपय प्रहरी परिवारले त किचनमा पकाएको खाना बोकेर प्रभागसम्म पुर्याइरहेको देखियो।
भदौ २६, २०८२ बिहीबार २०:५९:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।