कारागारबाट फरार कैदीबन्दी र थुनुवालाई कारागारमै फर्किन प्रहरीको आग्रह

कारागारबाट फरार कैदीबन्दी र थुनुवालाई कारागारमै फर्किन प्रहरीको आग्रह

काठमाडौं : प्रहरी प्रधान कार्यालयले कारागारबाट फरार कैदीबन्दी र थुनुवालाई कारागारमै फर्किन अनुरोध गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सजाय तोकिएर भुक्तान गरिरहेका कैदीलाई कारागारको सम्पर्कमा आउन तथा थुनुवालाई सम्बन्धित प्रहरी इकाइमा आउन अनुरोध गरिएको बताए।

प्रहरी महानिरीक्षकको कार्यालयले आजै सूचना जारी भदौ २३ मा जेनजीका नाममा भएको प्रदर्शनपछि कारागार कार्यालय तोडफोड, आगजनी गरी फरार रहेका कैदीबन्दीलाई सम्बन्धित प्रहरी कार्यालयमा यथाशीघ्र सम्पर्कमा आउन अनुरोध गरेको हो।

कार्यालयले आज जारी गरेको सूचनामा भनिएको छ, “भदौ २३ गतेपछि देशभर भएको प्रदर्शनका क्रममा नेपाल प्रहरीका विभिन्न कार्यालय र इकाईहरू तथा कारागार कार्यालयहरूमा भएको तोडफोड, आगजनीपश्चात अनुसन्धानका क्रममा हिरासतमा रहेका अभियुक्तहरू र अदालतबाट तोकिएको सजाय भुक्तान गर्न कारागारमा रहेका कैदीबन्दीहरू भागेकाले त्यस्ता अभियुक्त र कैदीबन्दीलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालय, इकाईहरू वा अन्य सुरक्षा निकायको स्थानीय कार्यालयहरूमा यथाशीघ्र सम्पर्कमा आउन अनुरोध गरिएको छ।”

प्रहरीका अनुसार यसरी १४ हजारभन्दा बढी कैदीबन्दी र थुनुवाहरु भागेका छन्। त्यसमध्ये केही सय मात्रै फर्किएका छन् भने केही पक्राउ परेका छन्। 

भदौ २६, २०८२ बिहीबार २०:००:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।