सर्वोच्च अदालतले आइतबारदेखि वन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदन दर्ता र सुनुवाइ सुरु गर्ने

काठमाडौं : सर्वोच्च अदालतले हालैको आन्दोलनका क्रममा अदालत भवनमा भएको आगजनी, तोडफोड र लुटपाटप्रति गहिरो दुःख व्यक्त गर्दै न्यायपालिकाको काम अविचलित रुपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको हस्ताक्षरमा जारी विज्ञप्तिमा अदालतहरू नागरिक आस्थाको केन्द्र भएकाले तिनमा भएको विध्वंसात्मक आक्रमणले अमूल्य ऐतिहासिक कागजात, उपकरण, सवारीसाधन र अन्य सम्पत्तिमा अकल्पनीय क्षति पुगेको उल्लेख छ । “नेपाली न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरू करिब–करिब नष्ट हुन पुगेका छन्,” विज्ञप्तिमा भनिएको छ।
यस्तो विषम परिस्थितिमा पनि संविधानले दिएको दायित्वअनुसार नागरिकका मौलिक हक र न्याय प्राप्त गर्ने अधिकारको प्रत्याभूति गर्ने कार्यमा न्यायपालिका दृढ रहने सर्वोच्चको भनाइ छ। यही क्रममा अदालतले आउँदो भदौ २९ गते आइतबारदेखि वन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदन दर्ता र नियमित सुनुवाइ सुरु गर्ने निर्णय गरेको छ।
विज्ञप्तिमा आगजनीको बीचमा जनताको सम्पत्तिका रूपमा रहेका मिसिल कागजात र भौतिक स्रोत साधन जोगाउन खटिएका न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी, कानुन विद्यार्थी, सुरक्षाकर्मी तथा सर्वसाधारणप्रति आभार व्यक्त गरिएको छ। साथै, आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरिएको छ।
भदौ २६, २०८२ बिहीबार १७:०७:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।