जलिरहेको सिंहदरबार : जेनजी आन्दोलनको जीतको प्रतीक कि कलंक ?

जलिरहेको सिंहदरबार : जेनजी आन्दोलनको जीतको प्रतीक कि कलंक ?

काठमाडौं : सोमबार र मंगलबार जेनजी  पुस्ताले गरेको प्रदर्शनले उग्र रूप लिँदा विध्वंश मच्चियो। व्यक्तिगत सम्पत्तिसँगै सार्वजनिक सम्पत्तिहरू समेत नष्ट गरियो।

सोमबारको आन्दोलनमा घाइते भएकामध्ये १९ जनाको मृत्यु भएको सार्वजनिक भएसँगै आक्रोशित जनसमूह सडकमा उत्रियो। त्यही समूहमा अराजकता मच्चाउन चाहने समूहको घुसपैठ हुँदा न संसद भवन बाँकी रह्यो, न सिंहदरबार छाडे न अदालत नै।

२०४६ को आन्दोलन होस् या २०६२/०६३ को सडकका रेलिङ तोडफोड र केही प्रहरी कार्यालय जलाउने बाहेक यती ठूलो संख्यामा कहिल्यै सार्वजनिक सम्पत्ति नष्ट गरिएन। निर्मल निवास, राजतन्त्र पक्षधरहरुको निवास लगायत अधिकांश राजतन्त्र पक्षधरहरू सुरक्षित रहँदा देशको सार्वजनिक सम्पत्ति ध्वस्त पारियो।

कतिसम्म भने जुनसुकै समयमा पनि अत्यावश्यक स्वास्थ्य मन्त्रालय समेत छाडेनन् प्रदर्शनकारीहरूले। आन्दोलनका घाइतेहरुको उपचार व्यवस्थापन गरिरहेको मन्त्रालयमा छिरेको एक समूहले आगो लगाएर मन्त्रालय खरानी बनायो। प्रदर्शनकोक्रममा घाइते भएका ३४ जनाको मृत्यु भइसकेको छ।

आन्दोलनमा एक हजार तीन सय ६८ घाइते भएकामध्ये अझै तीन सय २१ जना विभिन्न अस्पतालमा उपचाररत छन्। उनीहरुको उपचारको प्रबन्ध यही मन्त्रालयबाट भइरहेको थियो।

यो मन्त्रालयमा भ्रष्टाचार भएको भए प्रमाण पनि त्यही मन्त्रालयमा नै थियो। तर भ्रष्टाचार विरोधी आन्दोलन भन्दै भ्रष्टाचारकै प्रमाण नष्ट गरियो।

उकेराकर्मी बुधबार दिउँसो स्वास्थ्य मन्त्रालय पुग्दा अघिल्लो दिन लागेको आगो निभिसकेको थिएन। मन्त्रालयमा लागेको आगो निभाउन राज्यको कुनै संयन्त्रले काम गर्न सकेन। 

बिहीबार पुग्दा मन्त्रालयभित्र रहेका सम्पूर्ण कागजात लगायतका भौतिक सामग्री जलेर ध्वस्त भइसकेका थिए। मन्त्रालयको प्रांगणमा राखिएका गाडि, मोटरसाइकल लगायत सबै जलेर ध्वस्त भएका थिए। 

आगो लाग्न थालेपछि कर्मचारी भने मन्त्रालय पछाडीबाट पर्खाल नाघेर भाग्दा मानविय क्षती हुनबाट रोकियो। आन्दोलनको क्रममा घाइते  तथा मृतकको अध्यावधिक र उपचारमा समन्वय गरिरहेको मन्त्रालयको ‘हेल्थ इमर्जेन्सी अप्रेशन सेन्टर (एचइओसी)’को टिम पनि मन्त्रालयबाट भाग्नु परेको थियो।मन्त्रालयको जलेको त्यो खण्डहर र खरानीको दृष्यले मन पोल्यो। 

यो मात्रै हैन मंगलबार नै राज्यका संयन्त्रको परिचालन तथा व्यवस्थापन गर्ने संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत र प्रशासनीक लगायतका महत्वपूर्ण संरचना ध्वस्त पारियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति समक्ष राजीनामा दिइसकेका थिए। सरकार पनि काम चलाउ बन्यो। सेना रहस्यमय रुपमा निस्क्रिय बसिदियो। 

यही मौका छोपेर एक समूहले राज्यको कानुन बनाउने थलो व्यवस्थापिका, कानुनको कार्यान्वयन गर्ने थलो कार्यपालीका र न्यायको व्याख्या विश्लेषण गर्ने तथा न्याय निरुपण गर्ने न्यायपालिकाका मुख्य भवन जलाएर ध्वस्त बनाए। प्रधानमन्त्री अनि मन्त्रीहरूका सरकारी निवास जलाइए। यी सबै नागरिककै कर खर्च गरेर निर्माण गरिएका थिए।

चीनको उपहारको संसद भवन भोलिका दिनका पनि चाहिन्थ्यो नै। सिंहदरबारमा पुगेकाहरू भ्रष्ट भए पनि भोलिका दिनमा परिवर्तन चाहने जेनजी पुस्ताकै प्रतिनिधि सरकार चलाउने जिम्मेवारीमा पुग्दा चाहिने प्रशासनिक थलो त यही नै हो। इतिहासमा कहिल्यै न्यायपालिकामाथि आक्रमण भएन। तर प्रमाण नष्ट गर्ने नियोजित योजनामा सर्वोच्च लगायतका अदालतमा आगजनी गरियो।

अनि मनमा प्रश्न उठ्यो,‘के यी सार्वजनिक सम्पत्ति परिवर्तनको माग गरिरहेका जेनजी पुस्ताले नै जलाएका हुन् त ?’

भदौ २६, २०८२ बिहीबार १६:२२:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।