सुर्खेतमा निषेधाज्ञा उल्लंघन : राजनीतिक दलका भ्रातृ संगठन र जेन-जी समूहका ६ जना पक्राउ

सुर्खेत : सुर्खेतमा निषेधाज्ञा उल्लंघन गरी भेला तथा पत्रकार सम्मेलन गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा राजनीतिक दलका भ्रातृ संगठनका नेता-कार्यकर्ता र जेन-जी आन्दोलनका सदस्यहरू रहेका छन्।
प्रहरीले बिहीबार दुई फरक स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। सुर्खेत बहुमुखी क्याम्पसभित्र बैठक गरिरहेको अवस्थामा राजनीतिक दलका भ्रातृ संगठनका केही व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो।
त्यस्तै, वीरेन्द्रनगर-६ स्थित डी-नमस्ते होटेलमा पत्रकार सम्मेलन गरिरहेका जेन-जी समूहका सदस्यहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनजंग बुढथापाले निषेधाज्ञा जारी रहेको अवस्थामा भेला आयोजना गरेकाले मुख्य व्यक्तिहरूलाई पक्राउ गरिएको जानकारी दिए।
‘दुवै ठाउँबाट ६ जना मुख्य व्यक्तिहरूलाई पक्राउ गरेका हौं,’ डिएसपी बुढथापाले भने, ‘अन्यलाई सम्झाई-बुझाई घर पठाइएको छ।’
प्रहरीका अनुसार, जेन-जी समूहभित्र नेतृत्व र एजेन्डाको विषयमा विवाद देखिएको थियो। जेन-जीका संयोजक भनिएका सुनिल शाहीको पक्षले पत्रकार सम्मेलनमा ‘राजासहितको एजेन्डा’ समेटिएको विज्ञप्ति सार्वजनिक गर्न खोजेपछि सुवर्ण थापा नेतृत्वको अर्को पक्षले त्यसको प्रतिवाद गरेको थियो, जसका कारण पनि विवाद सिर्जना भएको थियो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा जुम्लाका ३३ वर्षीय बद्री बोहोरा, कालिकोटका १८ वर्षीय महेश कठायत, सुर्खेतका ३१ वर्षीय मोहन थापा, कालिकोटका २४ वर्षीय प्रेम बुढा, २६ वर्षीय पुष्पराज शाही र १८ वर्षीय मिलन बस्नेत रहेका छन्।
भदौ २६, २०८२ बिहीबार १५:१९:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।