जेनजी आन्दोलनमा जेलबाट भागेका बलात्कारमा ९ वर्ष कैद सुनाइएका दीपक बलात्कार प्रयासको आरोपमा समातिए
काठमाडौं : बलात्कार गरेको अपराध पुष्टिसँगै ९ वर्ष कैद सजाय पाएका कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१ का ३५ वर्षीय दीपक सुनार जेनजी आन्दोलनको फाइदा उठाउँदै कारागारमा तोडफोड गरेर भागेका थिए। उनै सुनार बिहीबार ५० वर्षिया महिलाको बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परे।
उनी कञ्चनपुर कारागारमा थिए। नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मुक्त गर्न गएको समूहको माग अनुसार उनलाई मुक्त गरेपछि देशभरको कारागारका कैदी र बन्दीहरू रिहाइको माग गर्दै आन्दोलित भएका थिए। त्यही क्रममा कञ्चनपुरका कैदी बन्दीहरूले आगजनी र तोडफोड गर्दै ४ सय ५८ जना कैदीबन्दी भागेका थिए। तीसँगै सुनार पनि भागेका थिए।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी खडकबहादुर खत्रीका अनुसार दोधाराचाँदनीकी ५० वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा उनलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्। बुधवार बेलुका सुनारले ती महिलालाई जबरजस्ती गर्न खोजेपछि महिला चिच्याइन्। त्यसपछि भाग्दै गरेका सुनारलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।
जेनजीको आन्दोलनको आवरणमा लामिछाने जस्तै देशभरका कारागारका रहेका करिब ६ हजार कैदीबन्दी कारागारबाट बाहिर निस्किएका थिए। केहीलाई सेनाले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइरहेको छ। कुख्यात अपहरणकारी उदय सेट्टी, जनकपुर चोकमा बम पड्काएर हत्या गरेको पुष्टी भएर नख्खुमा रहेका सञ्जय टकला लगायतका गम्भीर अपराधमा सजाय पाएर जेलमा रहेकाहरू भने अझैँ फेला परेका छैनन्।
भदौ २६, २०८२ बिहीबार १४:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।