जेन-जीले अस्विकार गरेका दलका शीर्ष नेता पदमै , युवामा नेतृत्व हस्तान्तरण गर्न दबाब

जेन-जीले अस्विकार गरेका दलका शीर्ष नेता पदमै , युवामा नेतृत्व हस्तान्तरण गर्न दबाब

काठमाडौं : जेन-जी आन्दोलनले सरकारसँगै दलका शीर्ष नेतासमेत अस्वीकृत भए। नेतृत्वहीन आन्दोलनमा भएको घुसपैठसँगै देश सरकारहिन छ। तर राजनीतिक निकास र युवा पुस्ताको चाहना अनुसार प्रमुख दलका नेताहरू पार्टी नेतृत्व हस्तान्तरणमा इच्छुक देखिएका छैनन्।

एमाले-कांग्रेस गठबन्धन सरकारको पतन र राजनीतिक शून्यताको अवस्थामा पुरानो पुस्ताका नेताहरूले युवा पुस्ताले नयाँ नेतृत्व चाहेको भन्दै निकास दिन पार्टीभित्रका वा नेतृत्वलाई सत्ता हस्तान्तरण गर्नुपर्ने दबाब बढिरहेको छ। तर उनीहरू मौन छन्।

सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सुरु भएको जेन-जी आन्दोलनकाक्रममा सोमबार १९ जना युवाको ज्यान गयो, जुन संख्या बढेर ३० नाघिसकेको छ। यही घटनाले आन्दोलनलाई देशव्यापी विध्वंसको दिशामा मोड्यो।

१९ जनाको मृत्युपछि मंगलबार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु नहुँदै उनी सेनाको सहयोगमा प्रधानमन्त्री निवासबाट भाग्नुपर्ने स्थिति बन्यो। मंगलबारको आन्दोलनले सरकारी कार्यालय, निजी सम्पत्तिदेखि नेताहरूका घरसम्म जलाएर देशको प्रशासनिक संरचना नै ध्वस्त बनाइदियो, जससँगै ओली सरकारको वैधानिकता पनि समाप्त भयो।

सोमबार १९ जनाको मृत्यु हुँदा सत्ताधारी एमाले र कांग्रेसका नेताहरू मौन रहे। मंगलबार सरकारी संरचना नै ध्वस्त भएपछि एकाएक सैनिक नेतृत्व सक्रिय भयो। माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले प्रधानमन्त्री बन्न नारायणहिटीमा दरखास्त आव्हान गरेकै शैलीमा नयाँ सरकार बनाउन राष्ट्रपतिलाई सुरक्षा घेरामा राखेर बुधवारबाट प्रधान सेनापति अशोकराज सिग्देल सक्रिय भए।

जसरी २०१९ माघमा तत्कालीन एमालेका महासचिव माधवकुमार नेपाल नारायणहिटीमा प्रधानमन्त्रीका लागि दर्खास्त हाल्न हतारिएका थिए २०७२ को संविधानले रोके पनि अन्तरिम सरकारको नेतृत्व लिन पूर्व प्रधानन्यायाधीश सुशीला कार्की त्यसरी नै हतारिएर जङ्गी अड्डा पुगेकी छिन्। उनले वार्तै गर्ने हो भने राष्ट्रपतिसँग गर्छु भन्न सकिनन्। नयाँ सरकारबारे कुनै निष्कर्ष आएको छैन।

उता सत्ताच्युत भएका नेताहरू बिस्तारै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिन सक्रिय भएका छन्। नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले क्षमायाचना र आत्मालोचना गरे पनि एमालेका नेताहरू माफी मागेका छन् न न त गल्ती नै स्वीकार गरेका छन्। उनीहरूले युवाहरूको मृत्युमा दुःख व्यक्त गरे पनि आफ्नै सरकारको कार्यकालको औचित्य पुष्टि गर्ने असफल प्रयास गरिरहेका छन्।

जेन-जी आन्दोलनको माग सामाजिक सञ्जाल खोल्नुमा मात्र सीमित थिएन। उनीहरूको मुख्य माग सुशासन थियो। उनीहरूले 'हामीले तिरेको कर कहाँ खर्च गर्यौँ?" भनेर प्रश्न सोधेका थिए। त्यसमा ओली सरकारको निरङ्कुश कार्यशैलीको अन्त्यको माग समेत मिसिएको थियो। प्रदर्शनको प्रभावले सरकारको नेतृत्व मात्र होइन, देशका प्रमुख दल र विशेषगरी त्यसका ‘बुढो’ नेतृत्वलाई नै अस्वीकार गर्यो।

देशका मुख्य तीन दल (कांग्रेस, एमाले, माओवादी) को नेतृत्वमा सधैँ एउटै पुराना अनुहारले कब्जा जमाए। उनीहरू देशको स्वार्थमा भन्दा आफ्नै स्वार्थमा केन्द्रित भए। दलभित्र परिवर्तनका लागि युवा पुस्ताले उठाएको माग दमन गरे।  जेन-जीको परिवर्तनको माग दमन गर्ने प्रयास भने सफल भएन। भाग्नुपर्यो। 

यो आन्दोलनले देशको नेतृत्वको परिवर्तनको माग गरेको हो। बहुदलीय लोकतन्त्रमा सत्ता चलाउने दलले नै हो। युवा पुस्ता दलको नेतृत्वमा रहेका भ्रष्ट र बदनाम अनुहार पुन स्विकार्ने पक्षमा छैनन्। यसको विकल्प भनेको दलको नेतृत्व परिवर्तनसँगै सरकारको नेतृत्व परिवर्तन र लोकतान्त्रिक शासन व्यवस्थालाई पुन सक्रिय गराउने नै हो।

यसमा अब लोकतन्त्रमा विश्वास गर्ने दलको नेतृत्वमा रहेका केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल लगायतको बहिर्गमनको विकल्प देखिन्न। सत्तासँगै दलको नेतृत्व बदल्नु पनि युवापुस्ताको माग हो। अहिले सामाजिक सञ्जालमा त्यसको माग जवर्जस्त उठिरहेको छ।

अहिले देशमा रहेको राजनीतिक शून्यताको अवस्थामा उनीहरूले अब नेतृत्व गर्न सक्दैनन्। पुरानो नेतृत्व पूर्ण रूपमा अलोकप्रिय र अस्वीकृत भइसकेका छन्। यस्तो अवस्थामा जेन-जी आन्दोलनले उठाएको पुस्तान्तरणको मुद्दालाई सम्बोधन गर्दै अब दलको नेतृत्व युवा पुस्तामा हस्तान्तरणको विकल्प देखिन्न।​​​​​

जेनजी पुस्ता अब दलका त्यही अस्वीकृत अनुहारसँग भावी नेपालबारे छलफल गर्न तयार देखिएको छैन। अझैँ पनि शक्तिमा फर्कने लोभ पालिरहने हो भने अर्को दुर्घटना निम्तन सक्छ। व्यवस्था जोगाएर अवस्था बदल्न थप दुर्घटना रोक्न नेतृत्व हस्तान्तरण गर। 

भदौ २६, २०८२ बिहीबार १६:०२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।