विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ

विभिन्न कारागारबाट भागेकामध्ये ३५ कैदीबन्दी धादिङको गजुरीबाट पक्राउ

धादिङ : देशका विभिन्न कारागारबाट भागेका कैदीमध्ये ३५ जनालाई धादिङको गजुरीबाट नेपाली सेनाले पक्राउ गरेको छ।

जेनजी आन्दोलनको मौका छोपेर फरार भएका ती कैदीबन्दीलाई आज बिहान गजुरी चेकपोस्टमा चेकजाँचका क्रममा नियन्त्रणमा लिएको भैरवनाथ गणका कर्णेल अशिम श्रेष्ठले जानकारी दिए। यसअघि बुधबार धादिङकै गल्छी–बैरेनीबाट तीन जना पक्राउ परेका थिए।

पक्राउ परेकामध्ये २१ जना केन्द्रीय कारागार, नौ जना नक्खु, चार जना भीमफेदी र एक जना भद्र केन्द्रीय कारागारबाट भागेका रहेको सेनाले जनाएको छ।

पृथ्वीराजमार्गका विभिन्न स्थानमा सेनाले बुधबारदेखि कडाइका साथ चेकजाँच गरिरहेको छ। साना-ठूला सवारीसाधनदेखि पैदल यात्रुसम्मलाई सोधपुछ गरेर कैदीबन्दीको पहिचान गर्ने गरिएको कर्णेल श्रेष्ठले बताए। केहीलाई गोप्य सूचनाका आधारमा पनि नियन्त्रणमा लिइएको छ।

बुधबार पक्राउ परेका तीन जनालाई प्रहरीमा जिम्मा लगाइए पनि आज समातिएका ३५ जनालाई गजुरीस्थित भैरवनाथ गणमै राखिएको छ। उनीहरूको व्यवस्थापनका लागि नेपाल प्रहरीसँग समन्वय भइरहेको सेनाले जनाएको छ।

यससँगै सेनाले कारागारबाट भागेकाहरुलाई परिस्थितिगत अवस्थाको सामना गर्नुभन्दा स्वेच्छाले आत्मसमर्पण गर्न आग्रह गरेको छ।

भदौ २६, २०८२ बिहीबार १४:३२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।