'गणतन्त्रलाई थप सुदृढ बनाउँदै राष्ट्रपतिको अभिभावकत्वमा वर्तमान राजनीतिक संकटको समाधान खोजौँ'

काठमाडौं : बृहत् नागरिक आन्दोलनले गणतन्त्रलाई थप सुदृढ बनाउन राष्ट्रपतिको अभिभावकत्वमा वर्तमान राजनीतिक संकटको समाधान खोज्नुपर्ने बताएको छ।
आन्दोलनले आज विज्ञप्ति जारी गर्दै ‘जेनजी’ क्रान्तिले खोलेको ऐतिहासिक मार्गलाई संस्थागत गर्न राष्ट्रपतिले अग्र भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याएको छ। “संविधानले राष्ट्रपतिलाई दिएको गम्भीर जिम्मेवारी र जेनजी आन्दोलनको ऐतिहासिक योगदानलाई मनन गर्दै नेपाली सेनाले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ।
नागरिक आन्दोलनले जनसंघर्षमार्फत प्राप्त गणतन्त्र र धर्मनिरपेक्षतालाई अझ मजबुत बनाएर लैजानुपर्ने बताएको छ। साथै, बन्ने नागरिक सरकारले संविधानको आडमा उभिएर भ्रष्टाचार र बेथितिविरुद्ध कठोर निगरानी राख्नुपर्नेमा पनि जोड दिएको छ।
“जेनजीलाई आवश्यक पर्ने जस्तोसुकै समर्थन र सहकार्य दिन नागरिक समाज तयार छ,” विज्ञप्तिमा उल्लेख छ।
भदौ २६, २०८२ बिहीबार १३:४९:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।